होबार्ट। तास्मानियाको होबार्टमा नेपाली चलचित्र ‘प्रकाश’ प्रदर्शन हुनेभएको छ। कर्णालीको कथा बोकेको भनिएको यो चलचित्र कर्णालीकै विद्यार्थीहरुको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हो। चलचित्र आगामी अगस्ट २६ तारिख शुक्रबार साँझ ६ः १५ बजे होबार्टको ग्लेनोर्ची स्थित भिलेज सिनेमा हलमा प्रदर्शन हुनेछ।
चलचित्र प्रदर्शनको आयोजना संगीत संवादले गरेको हो। नेपाली रेडियो कार्यक्रम संगीत संवाद नेपाली सोसाइटी अफ तास्मानियाले संचालन गर्दै आएको छ ।
संगीत संवादका अनुसार, ‘प्रकाश’ चलचित्र प्रदर्शन मार्फत उठेको रकम कर्णालीको एउटा विद्यालयलाई जानेछ र त्यहाँका विद्यार्थीहरुको जीवनमा प्रकाश छर्न मद्दत पुग्नेछ। नेपाली कला, कथा तथा नेपाली चलचित्रको प्रबर्द्धनसंगै सामाजिक भावना पनि जोडिएकोले कार्यक्रममा सहभागी हुन् नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयाराज भट्टराईले आग्रह गरेका छन् ।
चलचित्र प्रकाशमा दिया मास्के, प्रदीप खड्का, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गरेका छन्।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।