छत्र शंकर ।
तास्मानिया स्थित डेभनपोर्ट नेप्लिज कम्युनिटीले १ लाख ५० हजार रुपैयाँ नेपालमा नयाँ सूचना प्रविधिको थप विकासका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।
डेभनपोर्ट नेप्लिज कम्युनिटीका अगुवा चेतन कँडेलले गत वर्षको तीज कार्यक्रमबाट बचेको उक्त रकम आविष्कार केन्द्रको कार्यालयमै पुगी संस्थापक महावीर पुनलाई शनिवार चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरणपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले विदेशमा बस्ने नेपालीहरूले डेभनपोर्टका नेपाली समुदायजस्तै आविष्कार केन्द्रलाई सहयोग गर्दे जाने हो भने आफ्नो अभियानले सफलता पाउने बताउँदै डेभनपोर्टका नेपाली समुदायको प्रशंसा गरे। डेभनपोर्ट नेपाली समुदायका अगुवा कँडेलले समुदायबाट उठेको पैसा जोगाउन आफै खानपिनका लागि समुदायका प्रतिनिधिहरुनै खटेर उक्त रकम बचेको बताए । उनले भने ‘यी कार्यक्रमहरूमा आएका करिब दुई सय पाहुनालाई आफै पकाएर खुवाए । यदि रेस्टुरेन्टबाट ल्याएर खुवाएको भए हामीले उक्त रकम बचाउन सक्दैन थियौँ ।’
गत वर्षको तीज कार्यक्रमबाट बचेको १७ सय २० डलर ३८ सेन्ट आविष्कार केन्द्रलाई सहयोग गरेको डेभनपोर्ट नेप्लिज कम्युनिटीका आर्थिक व्यवस्थापक देव सापकोटाले जानकारी दिए । साथै हालै सम्पन्न दसैँ कार्यक्रमको खर्च विवरण पनि सार्वजनिक गरिएको उनले बताए । स्पोन्सर र प्रत्येक व्यक्तिबाट जम्मा ५ हजार ६ सय डलर उठेको र दसैँ कार्यक्रममा खर्च गरी हाल समुदायसँग १२ सय ६६ डलर ३१ सेन्ट बचत रहेको सापकोटाले जानकारी दिए । बचत रकम समुदायका सदस्यलाई समस्या परेको वेला सहयोग गर्ने या सामुदायिक कार्यक्रमका लागि पाकाउने सामाग्री किन्ने योजना रहेको उनले बताए ।
डेभनपोर्टमा गत वर्ष सुवास मिश्र लगायतको अगुवाईमा तीज कार्यक्रमको आयोजना भएको थियो भने यसबर्षको तीज र दसैँ कार्यक्रमको सञ्जिल अधिकारी,वासुदेव सापकोटा,चेतन कंडेल,सुरेन्द्र,कंडेल र रमन भुर्तेल लगायतले संयोजन गरेका थिए ।