काठमाडौँ- पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेका अस्ट्रेलियन नागरिक मायरोन लभ एक शिक्षक भएको खुलेको छ । विमानमा ६८ जना यात्रु तथा चालक दलका ४ जना गरी जम्मा ७२ जना सवार रहेका थिए । हालसम्म ७० जनाको मृत्यु भइसकेको तथा दुई जनाको खोजी जारी रहेको छ ।
दुर्घटनामा परेका अस्ट्रेलियन नागरिक मायरन भने सिड्नीको एक स्कुलको शिक्षक हुन् । सिड्नीका स्थानीय २९ वर्षीय मायरन ब्रोन्टमा बस्दै आएका थिए ।
अहिलेसम्म उनको अवस्थाबारे पूर्ण जानकारी भने आइनसकेको अस्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेडले जनाएको छ । अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानीजले ट्वीट गर्दै नेपालमा भएको विमान दुर्घटनाका कारण आफू दुखी भएको तथा विमानमा सवार अस्ट्रेलियन नागरिकको बारेमा जानकारी लिन आतुर रहेको बताएका थिए ।
मायरनको परिवारले उनको अवस्थाबारे पूर्ण जानकारी नआएसम्म केही नबोल्ने बताएको छ । मायरनका साथीहरुले भने सामाजिक संजालमा भने उनीप्रति संवेदना व्यक्त गरिरहेका छन् ।
विमानमा सवार १५ जना विदेशी नागरिकमध्ये मायरन एक थिए । विमानमा भारतका ५, रुसका ४, कोरियाका २ तथा अर्जेन्टिना, आयरल्यान्ड, फ्रान्स र अस्ट्रेलियाका एक-एक जना रहेका थिए । ५७ जना नेपाली रहेका थिए ।
पोखराको प्रहरी अधिकारीले मृतक सबैलाई अस्पतालमा राखिएको जनाएका छन् ।
सोमबार विमानको ब्ल्याक बक्स भेटिएको तथा त्यसको अनुसन्धानपछि विमान दुर्घटनाको कारण पत्ता लाग्ने अधिकारीहरुले जनाएका छन् ।
विगत ३ दशकमा नेपालमा भएको यो सबै भन्दा ठूलो विमान दुर्घटना हो । सन् २००० देखि विमान अथवा हेलिकप्टर दुर्घटनामा कम्तिमा पनि ३ सय ५० जनाको मृत्यु भएको छ ।