दीपक अर्यालको यात्रा संस्मरण: घुम्‍नैपर्ने तास्मानियाको ब्रुनि आईल्यान्ड !

दीपक अर्यालको यात्रा संस्मरण:  घुम्‍नैपर्ने तास्मानियाको ब्रुनि आईल्यान्ड !
नेपालआईज
१९ माघ २०७९ ८:४२

यो भ्यूटावर उनकै स्मृतिमा समर्पित गरिएको रहेछ । हरेक वर्ष जनवरी २६ तारिका दिन अष्ट्रेलियाभरि राष्ट्रिय दिवसको रूपमा “Australia Day” मनाइन्छ ।

अस्ट्रेलिया । तास्मानियाको दक्षिण-पूर्वी भागमा थुप्रै सा-साना ज्वालामुखी निर्मित टापुहरू छन् । हामीसँग भएको छोटो समयको सदुपयोग गर्दै तीमध्ये एउटा होबार्टबाट दक्षिणमा अवस्थित ३६२ वर्ग मिटर क्षेत्रफल भएको ब्रुनी टापुसम्म पुग्ने निधो गर्‍याैँ । उत्तरी र दक्षिणी ब्रुनीलाई जोड्ने Bruny Island Neck Game Reserve and Truganini Lookout लाई गन्तव्य बनाएर हाम्रो यात्रा दक्षिणतर्फ मोडियो । दक्षिणतर्फको जमिन रसिलो छ । हरिया वनजंगल, फलफूलका वृक्षहरू, पातला बस्तीहरू, चिसो हावापानी अनि समतल कालो सडकको यात्राले मन फुरुङ् भयो । आधा घण्टाको ड्राइभपछि हामी एउटा जलमार्गमा आइपुग्यौँ जसलाई केटरिङ् (Kettering) भनिँदोरहेछ । थुप्रै डुंगा त्यहाँ तैरिरहेका थिए ।

कतिपय त घर जस्तै देखिन्थे । त्यहाँबाट हामी पारि तर्नुपर्ने थियो तर पुल थिएन । गाडीहरू तार्ने सानो पानीजहाज ( Vehicle Ferry) मा गाडीसहितै पस्यौँ । बीस मिनेटको यात्रापछि हामी लगायत थुप्रै अरू गाडीहरू पनि टापुको मूल सडकमा जोडियौँ ।

अब हामी उत्तरी ब्रुनीमा प्रवेश गरिसकेका थियौँ । यो टापुलाई D’Entrecasteaux Channel ले तास्मानियाको मूख्य भूमिबाट छुट्याएको रहेछ । त्यहाँका आदिवासीहरूले यस टापुलाई लुनावान्ना-अलोनाह (Lunawanna -alonnah) भन्छन् ।

फ्रान्सका अन्वेषक Bruni D’Entrecasteaux ले सन् १७९२ मा पहिलो युरोपेलीको रूपमा सामुद्रिक यात्रा गरेर यो जलमार्ग पत्ता लगाएका रहेछन् । उनकै नाममा यो जलमार्ग र टापुको नाम रहन गएको रहेछ । दुई लेन कालो सडकलाई पछ्याउँदै हामी अघि बढ्यौँ ।

गाडीबाट सडकका दुवैतर्फ सुन्दर उच्च पहाडी वनस्पतिका प्रजातिहरू जस्तै धूपी, सल्लाका कोमल मुनाहरू चिसो हावासँगै बयेली खेल्दै थिए । उनाइसौँ शताब्दीको प्रारम्भदेखि नै यस टापुलाई काठको स्रोत, स्याउका बगैँचा, भेँडा-चौपाया चरनका लागि उर्वर क्षेत्रको रूपमा उपयोग गरिँदै आइएको रहेछ । मह, ऐसेलु, जौ खेती, ह्यीस्की लगायत विभिन्न प्रकारका मदिरा, सिपी, चिज, चकलेट तथा दूधबाट बनेका मिठाईहरू उत्पादनमा ब्रुनी टापु प्रसिद्ध छ ।

प्रदूषण मुक्त यो सुन्दर ग्रामीण बस्तीका जनताले प्रकृति प्रदत्त उपहारहरूलाई जोगाएर आफ्नो बुद्धि, सिपको अधिकतम उपयोग गर्दै उत्पादनमूलक रोजगारको सृजना गरेका छन् । यस टापुको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाको बारेमा मौन विश्लेषण गर्दै, अवलोकन गर्दै हामी जलमार्ग तरेको पन्ध्र मिनेटमा Island Neck and Truganini Lookout मा आइपुग्यौँ । उत्तरी र दक्षिणी ब्रुनीलाई जोड्ने एउटा सानो घाँटी छ जसलाई Neck भनिँदाे रहेछ ।

यो घाँटीको पश्चिमतर्फ D’Entrecasteaux Channel छ भने पूर्वमा तासमान समुद्र रहेको छ । माथि डाँडोमा रहेको भ्यूटावरमा पुग्नका लागि काठको भर्‍याङ् बनाइएको छ ।

समुन्द्रको किनार, पहाडको फेदीमा स–साना प्वालहरू देखिए । साँझपख त्यहाँ सामुद्रिक चरा पेन्गुइनको बथान देखिने गरेको पर्यटकहरूले बताउँदै थिए । हाँसहरू निर्धक्क पानीमा खेल्दै थिए । उनीहरूलाई गुलेली ताक्ने यहाँ कोहि थिएनन् । उनीहरूलाई देख्न पाउँदा सबै “वाऊ…” भनेर प्रशंसा गर्थे । सेतो वालवी (White Wallaby) देख्न पाइन्छ कि भनेर कोहि वन तिर लम्कदै थिए ।

हामी भर्‍याङ् चढेर टावरमा पुग्यौँ । दुईवटै समुद्रको पानी मिसिन्छ कि जस्तो लाग्ने छिनेको खिरिलो घाँटी देखियो, जहॉ दुईवटै ब्रुनीलाई जोड्ने पक्की मार्ग निर्माण गरिएको छ।तासमान समुन्द्रका छालहरू अलि उत्ताउला देखिन्छन्, मानौँ उनीहरू पारि तर्फको मयूर झैं रङ्गीन जलपरीसँग मिलनका लागि लालायित छन् । तर केही मिटर चौडा ढिस्कोले छ्ट्याएको यिनका दुई किनाराको मिलन युगौँ देखि हुनसकेको छैन ।

हामी उभिएको टावरको नाम “Truganini Lookout” राखिएको रहेछ। यो नामले पनि एउटा दुःखद इतिहास बोकेको रहेछ। ट्रुगानिनी (सन् १८१२-१८७६) एक जना यहाँकी आदिवासी रहेकी थिइन् । तास्मानियामा युरोपेली अन्वेषकहरूको उपस्थिति हुन थालेपछि त्यहाँका आदिवासीहरूले आफ्नो भूमिको स्वामित्व, भाषा, कला, संस्कृति असुरक्षित भएको महसुस गर्न थाले ।

युरोपेलीहरूको आगमनसँगै भड्केको छापामार ब्ल्याक वारमा लगभग ९०० आदिवासीले ज्यान गुमाएका थिए । त्यस क्षेत्रकी आदिवासी महिला ट्रुगानिनीले थप क्षति हुन नदिन दुवै पक्षबीच समन्वयात्मक भूमिका खेल्दै आदिवासीहरूलाई फ्लिन्डरस् टापुमा सार्ने प्रस्तावमा सहमति जनाइन् ।

उनी नै त्यस क्षेत्रकी अन्तिम आदिवासीको रूपमा बाँकी थिइन्। उनको मृत्यु होबार्टमा भएको थियो । यो भ्यूटावर उनकै स्मृतिमा समर्पित गरिएको रहेछ । हरेक वर्ष जनवरी २६ तारिका दिन अष्ट्रेलियाभरि राष्ट्रिय दिवसको रूपमा “Australia Day” मनाइन्छ ।

हामीले त्यो दिनको एउटा प्रदर्शन होबार्ट सहरमा आफ्नो गाडीबाट हेर्‍याैँ।उक्त दिनले सन् १७८८ मा ब्रिटिस आर्थर फिलिप (Arthur Phillip) को नेतृत्वमा पानिजहाजबाट आएको टोलीले औपचारिक रूपमा सिड्नीमा झण्डा फहराएर अष्ट्रेलिया महादेशमा स्थायी रूपमा युरोपेली उपनिवेश कायम गरेको दिनलाई इङ्कित गर्दो रहेछ ।

सायद यो दिनलाई आदिवासीहरूले आफ्नो राज्य, सार्वभौमिक अधिकारहरू, आफ्नो परम्परा अनि संस्कृतिमाथि धावा बोलिएको दिनको रूपमा लिन्छन् होला । तर, विगत दुई शताब्दीमा प्रशान्त महासागरमा लाखौँ छालहरू उठे र बिलाए । पुरानो घाउमा खाटो बसिसकेको छ, आदिवासीहरूको स्तरलाई माथि उठाउन सरकारले धेरै राम्रा कार्यक्रमहरू ल्याएको हामीले देख्यौँ ।

ट्रुगानिनीप्रति श्रद्धासुमन अर्पण गर्दै उनको भ्यूटावरबाट दृष्यावलोकन गरिसकेपछि हामीलाई तास्मानियाको ऐतिहासिक स्थल (Historical Site) हेर्न मन लाग्यो । अनि पोर्ट आर्थर ऐतिहासिक स्थन (Port Arthur Historic Site) तर्फ मोडियौँ ।

तास्मान राजमार्ग हुँदै अघि बढ्ने क्रममा तास्मान पुल पार गर्‍याैँ, होबार्ट अन्तर्राष्ट्रिय विमानस्थल कट्यौँ, सामुद्रिक भँगालोहरू जोड्न बनाइएका पुलहरू तर्‍याैँ, रात बिहान सडक तिर आउने Wallabies र Wombats जस्ता जंगली जनावरहरूलाई गाडीले किचेर अलपत्र पारेका दृष्यहरूले हामीलाई दुखी बनाए पनि जनावरप्रतिको यो निर्ममता बाध्यताकै परिणाम होला भन्ने ठान्यौँ ।

यसरी हामी होबार्टबाट झण्डै ९५ किलोमिटर बाटो लगभग डेढ घण्टा लगाएर पार गर्दै हाम्रो गन्तव्य ऐतिहासिकस्थल अवलोकन गर्न आइपुग्यौँ । तर अफसोच कार्यालयको टिकट काउन्टर बन्द भइसकेको रहेछ । त्यहाँ अवलोकन गर्न कम्तिमा पनि दुई दिनको समय छुट्याउनुपर्ने सल्लाह त्यहाँका अधिकारीहरूबाट पायौँ ।

हामीसँग त्यति लामो समय थिएन । सोहि दिन बेलुका लनचेष्टन फर्कनुपर्ने थियो । भविष्यमा यस्तै अर्को यात्रा तय गर्ने अवसर मिल्यो भने यो ऐतिहासिकस्थललाई पहिलो प्राथमिकतामा राख्ने सल्लाह गर्दै चित्त बुझायौँ ।कार्यालय भवन अगाडि एउटा सामूहिक तस्वीर खिचायौँ,केही ब्रोसर माग्यौँ, अनि होबार्ट तिरै मोडियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर