छत्र शंकर
नेपालीहरूको सबैभन्दा बढी जनसङ्ख्या रहेको अस्ट्रेलियाको ठुलो सहर सिड्नीमा आज नेपाल महोत्सव हुँदै छ । सिड्नीको बरुड पार्कमा हुने महोत्सवमा आज बिहानै देखि कार्यक्रम स्थलमा एनआरएनए न्यूसाउथ वेल्सका प्रतिनिधि सक्रिय रहेका छन् ।
महोत्सवमा सहभागी हुन अस्ट्रेलियाका सबै राज्यहरूबाट नेपालीहरू सिड्नी आइपुगेका छन् । सिड्नीको बरुड पार्क, ११ बजेपछि नेपाल मय हुनेछ । फेस्टिभलमा करिब ५५ वटा व्यवसायी स्टलहरू रहेका छन् भने ९ वटा नेपाली खानाका स्टलहरू रहने नेपाल फेस्टिभल सिड्नीका उपसंयोजक अनिल पोख्रेलले जानकारी दिए । बरुड पार्कमा सहभागी हुने नेपालीहरूले विभिन्न नेपाली खानाहरू एकै स्थलमा चाख्न पाउने छन् । महोत्सवमा सहभागीहरूले नेपाली परिकारको स्वाद लिँदै प्रकाश सपुत र दीपक बज्राचार्यको साङ्गीतिक प्रस्तुतिको मज्जा लिन सक्नुहुने छ भने हास्यकलाकार सन्दीप क्षेत्रीले मज्जाले हसाउनु हुनेछ ।
कल्चरल परेडमा कसरी सहभागी हुने
बिहान ११ बजेदेखि फेस्टिभल सुरु हुने छ । बिहान ११ बजे बरुड पार्क नजिक भेला भएर नेपाल परेड सुरु हुन्छ । परेडमा विभिन्न झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा, पञ्चे बाजा सहित परेड सुरुवात हुने न्यु साउथ वेल्स एनआरएनए अस्ट्रेलियाकी सचिव तथा कल्चरल परेडकी संयोजक सन्ध्या शाहले जानकारी दिइन् । परेडमा सहभागी हुन आउनेहरूले कल्चरल पोसाक लगाएर सहभागी हुनुपर्ने छ ।
यस पटको फेस्टिभलको महत्त्व बढ्यो
कोभिड महामारीपछि पहिलो पटक हुन लागेको नेपाल फेस्टिभल सिड्नीमा हजारौँ मानिसहरूको सहभागिता हुने अनुमान गरिएको छ । एनआरएनए उपाध्यक्ष तथा न्यूसाउथ वेल्स राज्यका संयोजक देव गुरुङका अनुसार फेस्टिभलमा स्थानीय अस्ट्रेलियाहरूको पनि उल्लेख्य मात्रमा उपस्थिति रहने छ । नेपाल चिनाउनका लागि महोत्सवमा सहभागी हुन स्थानीयहरूलाई पनि प्रोत्साहित गरिएको छ ।