टर्की । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेकाे संख्या २४ हजार नाघेको छ । गत सोमबारको भूकम्पमा परी हालसम्म २४ हजार १ सय ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
टर्कीमा २० हजार ६ सय ८५ र सिरियामा ३ हजार ५ सय जनाले ज्यान गुमाएका हुन् । त्यस्तै, हजारौँ मानिस घाइते भएका छन् । टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। भूकम्प आएको १२८ घण्टापछि हटाईमा एक जना १३ वर्षका बालकको जीवितै उद्धार गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक गर्भवती र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको छ। विनाशकारी भूकम्पबाट करिब ५३ लाख सिरियाली घरबारविहीन भएको अनुमान छ ।
मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका एक अधिकारीले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा गएको बताएका छन् । उनले सिरियामा पनि सहायता सामग्री परिचालन गरिने जनाए पनि सरकार नियन्त्रित र विद्रोहीको पकड भएका सिरियाली भूमिमा कसरी राहत सामग्री आपूर्ति गर्ने भन्नेमा स्पष्ट भएको छैन ।
टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो । अपराह्न फेरि ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्याएको थियो । पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवारसमेत परकम्पहरू महसुस भएका छन् ।
सिरियाका सरकारी सञ्चार माध्यमहरूका अनुसार दमास्कसले अब आफ्ना नियन्त्रण रेखा हुँदै विद्रोही नियन्त्रित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पठाउने अनुमति दिएको छ। आवास, पानी, इन्धन र विद्युत् आपूर्तिको अभावका कारण टर्की र सिरियामा अझै कैयौँले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।