अस्ट्रेलिया । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी क्वान्टसले आगामी १० वर्षमा उड्डयन क्षेत्रमा काम गर्ने ८ हजार ५ सय कर्मचारी भर्ना गर्ने भएको छ ।
यात्रुको माग पूरा गर्न क्वान्टसले कर्मचारीको संख्या बढाउने भएको हो । क्वान्टसले शुक्रबार नै आगामी १८ महिनाभित्रै क्याविन क्रु, पाइलट, इन्जिनियर तथा अन्य कर्मचारी गरी २ हजारलाई भर्ना गर्ने जनाएको छ । क्वान्टसमा अहिले २३ हजार ५ सय कर्मचारी कार्यरत छन् । सन् २०३३ सम्ममा यो संख्या ३२ हजार पुग्ने अनुमान गरिएको छ ।
यस अवधिमा क्वान्टसले २ सय ९९ वटा न्यारोवडी तथा १२ वटा वाइडवडी थप्ने योजना पनि बनाएको छ । त्यसैगरी, क्वान्टसले प्रत्येक वर्ष ३ सय जना इन्जिनियरलाई प्रशिक्षण दिने उद्देश्यले अस्ट्रेलियामा क्वान्टस ग्रुप इन्जिनियरिङ एकेडेमी खोल्ने भएको छ ।
क्वान्टसले आगामी १० वर्षसम्म प्रत्येक वर्ष २ सयका दरले इन्जिनियरको आवश्यकता रहने पनि जनाएको छ । समग्रमा आगामी १० वर्षसम्म क्वान्टसले ४ हजार ५ सय क्याविन क्रु, १ हजार ६ सय पाइलट, ८ सय इन्जिनियर तथा १ हजार ६ सय अन्य कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ ।