करिब ६ बर्षपछिको नेपाल यात्रा: जन्मभूमिको बिछट्टै माया लाग्यो !

करिब ६ बर्षपछिको नेपाल यात्रा: जन्मभूमिको बिछट्टै माया लाग्यो !
नेपालआईज
३० चैत २०७९ ९:३८




छुट्टीमा नेपाल गएर फर्केका साथीहरुले उनीहरुले भोगेका मिठा भन्दा तीता अनुभूति धेरै सुनाउँथे । नेपाल फोहोर छ, शहरहरु प्रदुषित छन्, कुनै कुराको सिस्टम छैन, जताततै बेथिति छ भन्ने कुरामा उनीहरुले बढि जोड गर्थे । अझ कतिपयले त ‘त्यस्तो जाबो नेपाल’ अबदेखि फर्केर पनि जान्न भन्नेसम्मको कुरा सुनाउन भ्याए ।


बेथिति, फोहोर र प्रदुषण त म नेपालमै हुँदा थियो । यसपटक मैले पनि यिनै कुराहरुलाई पुन: अनुभव गरे । पहाड, हिमाल, खोला लगायतका प्राकृतिक सुन्दरता, पारिवारिक सुख बाहेक अन्य कुनै मिठा क्षण मैले पनि खासै अनुभूति गर्न पाइन । एक महिनासम्म मैले नेपालमा भोगेका तीता र मिठा अनुभव कनिकुथी गरी कापीका पानामा उतार्न कोशिस गरेको छु । आशा छ, पुरै पढिदिनुहुनेछ ।


विमानस्थलमा अवतरण:


तास्मानियाको लञ्चेस्टनबाट तीनवटा जहाज फेरेर करिब १५ घण्टाको निरन्तर उडान पछि फेब्रुअरी १६ मा दिउँसो साढे एक बजे हामी त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लियौं । करिब ६ बर्षपछि आफ्नो जन्मभूमीमा पाइला टेक्दा मन थाम्न सकिएन, आँखा रसाए । परिस्थितीबस जन्मभूमिबाट जति नै टाढा भएपनि आफ्नो देशको बिछट्टै माया लाग्दो रहेछ । अनिद्रा र लगातारको यात्राले होला शायद, शरीर एकदम थाकेको थियो, खुट्टाहरु लगलग कामेका थिए ।
विमानस्थलबाट बाहिरिँदा आवश्यक प्रक्रिया पुरा गरेर एक एकवटा लगेज गुडाउँदै हामी बाहिर निस्कियौं । मेरो बुवा आमा काठमाडौंमा डेरा गरेर बस्नुहुन्छ । अझ दमौलीबाट दिदी पनि हामीलाई बिमानस्थलमा रिसिभ गर्न आउने कुराले हामी झनै उत्साहित थियौं । पाङ्ग्रावाला बाकस गुडाउँदै हामी बाहिर निस्क्यौं । बाहिर निस्केपछि बुवा आमासँग भेट भइहाल्छ भन्नेमा ढुक्क थियौं । त्यसैले होला, हामीले न त सम्पर्कको लागि नेपाली सिम राखेका थियौं, न त खर्चको लागि नेपाली रुपैयाँ नैं । बुवा आमा डेरा सर्नुभएको थियो, लिन आउने कोही नभइकन हामीलाई जाने गन्तव्य पनि थाहा थिएन ।


बाहिर निस्केपछि यता उता हेर्यौं, हामीलाई लिन आउने कोही कसैलाई पनि देखिएन । आँखाको दृष्टिले ठम्याउने सम्म हेर्यौं, अहँ कोही कतै देखिएन । बरु हामीलाइ नै रिसिभ गर्न आए जसरी करिब १०, १५ जना मानिसहरु हामीलाई तान्न आए । अझ एउटा मान्छेले त हाम्रो एउटा लगेज तानेर आफ्नो गाडीमा हाल्ने प्रयास गर्यो । उनीहरु ट्याक्सी वाला रहेछन् । कतिका मुखबाट त रक्सीको गन्ध ह्वास्स आउँथ्यो । हामीलाई फोन प्रयोग गर्न दिए वापत हामी उनीहरुको ट्याक्सीमा चढ्न पर्ने सम्मका सर्तहरु राख्थे । आपत परेको बेला सहयोग गर्नेभन्दा अर्काको समस्यामा आफ्नो फाइदा खोज्नेहरु देख्दा उदेक लाग्यो । कतिसम्मको बेथिती । करिब १० मिनेटको लुछाचुँडीपछि हामी उनीहरुबाट फुत्कियौं, पिँजडामा कैद चरी एकाएक खुला आकाशमा फुत्किएझैं ।

हामीलाई घरमा फोन गर्नुपर्ने थियो । रिसिभ गर्न आउने हो कि होइन भन्ने कुरा थाहा पाउनु थियो । तर हामीसँग पैसा थिएन, सिम थिएन । हामी नजिकै बसेका एकजना युवकसँग आफ्नो कहानी बेलिबिस्तार लगायौं, उनले आफ्नो फोन हामीलाई प्रयोग गर्न दिए ।


आमाहरु पशुपति क्षेत्रको जाममा पर्नुभएको एक घण्टा भएको रहेछ । उहाँहरु आउने कन्फर्म भएपछि हामीसँग कुर्नको विकल्प थिएन । फोन प्रयोग गर्न दिने युवकलाई धन्यवाद भन्दै आमा, दिदी र भाउजुलाई पर्खिरह्यौं । करिब आधा घण्टाको पर्खाइपछि उहाँहरु आउनुभयो । बर्षौपछि भेट्दा उहाँहरुसँग आत्मीयता र प्रेम साटासाट भयो ।
बिमानस्थलबाहिरको तितो अनुभूति लिएर हामी हाम्रो गन्तव्यतर्फ लाग्यौं ।

छुटेका अधुरा काम पुरा गर्दाको अनुभव:


काठमाडौं ओर्लिएपछि करिब एक हप्तासम्म हामी घरमा मात्रै बस्यौं । लामो यात्राका कारण भएको थकान, काठमाडौंको धुँवा र धुलोले गर्दा होला, बाहिर निस्कन फिटिक्कै मन थिएन । तैपनि अस्ट्रेलिया जान भन्दा पहिला छुटेका बैंकिङ लगायत केही अधुरा कामहरु पुरा गर्नु पर्ने भएकाले हामी बाहिर निस्कियौं ।
हामी दुबै जनाको बैंक खाता रिएक्टिभेट गर्नु पर्ने थियो । बैंक गयौं । भित्र छिरेपछि माछा किन्न बजार आएको जस्तो भान भयो । कहाँ जाने, कसलाई भेट्ने पत्तो थिएन । भनौं, त्यहाँ कुनै सिस्टम थिएन, अनुशासन थिएन । रिसेप्सनमा सोधौ, मान्छे झुम्म परेर बसेका, मिचेर भित्र छिर्न सकिएन । हाम्रो पालो आउला र काम सकौंला भनेर कुर्दा कुर्दा आधा घण्टा भन्दा बढि बितिसक्यो ।
बल्ल तल्ल एकजना त्यहाँको कर्मचारीले हामीले धेरै कुरेको देखेर होला, हामीसँग सोध्नुभयो । हामीले हाम्रो समस्या पोख्यौं । उहाँले हामीलाई फर्म दिनुभयो, फर्म भर्यौं बुझायौं । करिब एक घण्टा यताउता गरेपछि हाम्रो काम सकियो, हामी निस्क्यौं । जाबो खाता रिएक्टिभेट गर्न यत्रो समय ?


अस्ट्रेलिया बस्दा मिनेट मिनेटको समयलाई सदुपयोग गर्न सिकेका हामीले त्यहाँ पुग्दा कोही कसैले समयलाई महत्व नदिएको भान भयो । ५ मिनेटमा सकिने काममा हामीले करिब डेढ घण्टा बितायौं । बेथितिको विरोध कस्ले गर्ने, कसैलाई कसैको मतलब छैन, आफ्नो काम सकाउन पाए भन्ने मात्र सोंच । आवाज उठाउन खोज्यो यो नेपाल हो, यहाँ यस्तै हुन्छ भन्ने रेडिमेड जवाफ आउँछ ।  

     
वियर खुवाउने भए आउछु, नत्र आउँदिन भन्नेहरु:


नेपाल गएको करिब १५ दिन सम्म मैले कुनै साथीहरुलाई म आएको औपचारिक जानकारी गराएको थिइन । काम विशेषले चितवन गएको बेला चितवन बस्ने एकजना बच्चैबेला देखिको साथीलाई फोन गरें । खुशीका साथ म नेपाल आएको जानकारी गराएँ, त्यहीमाथि उसकै शहरमा । ’कहिले आयौं, सञ्चै आयौं’ जस्ता सामान्य प्रश्नहरु पनि उस्ले मलाई सोधेन । ए हो, उसको जवाफ यति मात्र थियो ।
’आएको बेला एकछिन भेटौं, चिया खाउँला’ मैले प्रस्ताव राखें । ’चिया मात्रै, बियर खुवाउन पर्यो नि ?’ उसले तुरुन्त जवाफ फर्कायो ।
’आज वियर खान मिल्दैन यार, मेरो अन्य कुनै काम छ, चिया मात्र खाउँला…’ मेरो कुरा सकिन नपाउँदै उताबाट जवाफ आयो, ’वियर खुवाउने भए आउँछु नत्र आउँदिन ।’ मिलेको बेलामा वियर मात्रै के जेडीनै खाउँला नि भन्दै थिएँ, फोन काटियो ।
साथीको यो कुरा मलाई असामान्य लाग्यो । विदेशबाट आएकासँग बिना रक्सी भेट्न नै नहुने कतिसम्मको उदेकलाग्दो कुरा हो । साथीभाइको माया, आत्मीयता, सम्बन्ध वियरमा मात्र सीमित हो र ? उसले त्यस दिन पछि फोन पनि गरेन, मैले पनि गरिन ।


मान्छेहरुमा बढ्दै गएको नकारात्मक मनोवृत्ति:


नेपाल हुँदा मैले अनुभव गरेको अर्को उदेक लाग्ने कुराहरुमध्ये मान्छेहरुमा बढ्दै गएको नकारात्मक मनोवृत्ति पनि हो । कसैसँग बोल्न हुँदैन, सबैसँग रेडिमेड जवाफ छ । मुखभरिको जवाफ फर्काउँछन् । पेल्नेले पेलेको पेलेइ, पेलिने झन पेलिने स्थिती बन्दै गएको छ । बेथितीको विरोध गर्यो, कसैले साथ दिदैन, कसलाई के को मतलब ? आफ्नो स्वार्थभन्दा बाहेक बिना स्वार्थ कसैले कसैलाई सहयोग गरेको देखिएन ।


सडकमा सवारी दुर्घटना हुँदा दुर्घटनास्थलमा सहज परिस्थिती निर्माण गर्नुको साटो फोन तेस्र्याएर फोटो र भिडियो खिच्ने प्रवृत्ति पनि बढ्दै गएको पाएँ । अर्कोलाई दुख पर्दा सहयोग गर्नेभन्दा आफूलाई कसरी सहज हुन्छ, कसरी फाइदा हुन्छ भन्ने तरिकाले मात्र सोच्ने स्वार्थी प्रवृत्तिले मानिसहरुमा समवेदना हराउँदै गएको भान भयो ।

अन्त्यमा..


समय बदलिँदो छ । विज्ञान र प्रविधिको अद्भूत विकासले मानिसले समाजलाई अध्ययन र विश्लेषण गर्ने तरिकामा पनि आकाश पातालको फरक आइसक्यो । मानिसहरुको मानसिकता र सोच्ने शैली फेरिएको छ । तर दुर्भाग्यवश, विश्व यसरी परिवर्तन हुँदा पनि हामी नेपाली आँफैमा परिवर्तन हुनबाट टाढा भाग्दैछौं । केही कुरा बिग्रनुमा अर्कालाई दोष लाएर आफू पानी माथिको ओबानो बन्ने प्रवृत्ति हामीमा मौलाउँदै गयो । हामी यति स्वार्थी भयौं कि मानवताजस्तो आधारभूत विषयलाई हामीले ख्याल गरेनौं । अप्ठेरोमा परेकोलाई सहयोग गरेनौं, वेथितिको विरोध गर्नबाट पन्छियौं । मेरो बिग्रिए समाजको बिग्रन्छ, समाजको बिग्रिए देशको भलो हुँदैन भन्ने सामान्य कुरालाई पनि हामीले नजरअन्दाज गर्यौं । समाज परिवर्तन नुहुनु र देशको विकास र समाजको परिवर्तन नहुनुमा मेरो बिचारमा मुख्य कमजोरी यही नै हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको