अष्ट्रेलिया । अष्ट्रेलियाको पर्थमा भएको विश्व अंग प्रत्यारोपण खेलकुद २०२३ अर्थात् (World Transplant Games 2023) मा नेपालको तर्फबाट सहभागी खेलाडीहरूले ३ रजत ४ कास्य पदक जितेर स्वदेश फर्केका छन् ।
१५ अप्रिलबाट २१ सम्म भएको प्रतिस्पर्धामा गीता श्रेष्ठले ३० देखि ३९ वर्ष उमेर समूहको हाइजम्पमा रजत पदक तथा ४ मिटर हाइजम्प र १०० मिटर दौडमा कास्य पदक जितेका हुन् । विष्णुलाल श्रेष्ठले ५० देखि ५९ वर्ष समूहको हाईजम्पमा १ रजत एवम् १०० मिटर दौड र लङजम्प गरी दुई वटा कास्यपदक जितेका छन् । त्यस्तै, असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन् ।
यसरी नेपाली खेलाडीले पर्थमा भएको अन्तर्राष्ट्रिय खेलकुदमा ७ वटा पदक हात पारेका छन् । पर्थमा विश्वभरिका ४८ देशबाट विभिन्न अङ्ग प्रत्यारोपण गरेका ३ हजार जना र अंगदान गर्ने १२ सय खेलाडीको सहभागिता रहेको प्रत्यारोपण खेलकुद संघका अध्यक्ष ध्रुव विक्रम मल्लले जानकारी दिनुभयो । अर्को संस्करण २०२५ मा जर्मनीमा हुने भएको छ।