अस्ट्रेलिया । अस्ट्रेलियामा बसिरहेकी नेपालीमूलकी १५ वर्षीया किशाेरी सम्पर्कविहीन भएकी छन् । १५ वर्षीया अनिता प्रसाई बुधबारदेखि वेस्ट सिड्नीको क्रोयडनबाट हराएकी हुन् ।
प्रहरीले उनको खोजीकार्य तीव्र पार्नुका साथै सर्वसाधारणलाई सहयोग गर्न आग्रहसमेत गरेको छ । उनको तस्बिर न्यू साउथ वेल्स पुलिस फोर्सको सामाजिक सञ्जाल पेजहरूमा राखिएको छ र खोजीकार्यमा सहयोगका लागि अपिल गरिएको छ ।
अनित बुधबार मध्य रातमा क्रोयडनमा देखिएकी थिइन् । उनको स्वास्थ्य पनि खराब रहेको तथा उनको उमेर पनि कम भएका कारण उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न थालिएको छ ।
करिब १५५ सेन्टिमिटर अग्ली, पातलो जिउ, गोरो अनुहार, कालो कपाल तथा खैरो आँखा भएकी अनिता खैरो टी-शर्ट र निलो जिन्स लगाएकी थिइन् । उनी बरउड, क्रोयडन, फाइभ डक र पुट्नी क्षेत्रमा आवतजावत गर्ने गरेको बताइएको छ ।
उनको बारेमा जानकारी हुनेले बरउड पुलिस अथवा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।