अस्ट्रेलियाको वन नेशनको पार्टीको आप्रवासन नीतिः निर्वाचन जिते ७५ हजार अवैध आप्रवासी तत्काल देश निकाल्ने !

अस्ट्रेलियाको वन नेशनको पार्टीको आप्रवासन नीतिः निर्वाचन जिते ७५ हजार अवैध आप्रवासी तत्काल देश निकाल्ने !
नेपालआईज
२९ माघ २०८१ २२:२७

मेलबर्न । अस्ट्रेलियाको वन नेशन पार्टीले आप्रवासन सम्बन्धी नयाँ नीति घोषणा गर्दै ७५,००० अवैध आप्रवासीलाई तत्काल देश निकाला गर्ने तथा हालको आप्रवासन संख्यामा ५७०,००० को कटौती गर्ने योजना सार्वजनिक गरेको छ।

वन नेशनकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले अस्ट्रेलियन सरकार अस्ट्रेलियाली नागरिकहरूको हितमा काम गर्नुपर्ने र आप्रवासनबारे समुदायको मागलाई सम्बोधन गर्नुपर्ने बताइन्।

“एन्थोनी अल्बानिज नेतृत्वको सरकार अन्तर्गत रेकर्ड स्तरको आप्रवासनले हाम्रो आवास सङ्कटलाई झन् जटिल बनाइरहेको छ, मुद्रास्फीति बढाइरहेको छ, र सार्वजनिक सेवासँगै पूर्वाधारमा भारी दबाब सिर्जना गरिरहेको छ,” ह्यान्सनले भनिन्।

उनका अनुसार गृह मामिला विभाग (Department of Home Affairs) को तथ्याङ्कले देखाएअनुसार । “यी मानिसहरूले भिसा अवधि नाघेका, गैरकानूनी रूपमा काम गरिरहेका वा अपराध गरिसकेका छन्। हाम्रो नीतिअनुसार, उनीहरूलाई तुरुन्तै देश निकाला गरिनेछ र तिनीहरूलाई अष्ट्रेलियन पुनरावलोकन न्यायाधिकरण (Australian Review Tribunal) मा अपिल गर्ने कुनै अवसर दिइने छैन।”

वन नेशनले आप्रवासन संख्या घटाएर वार्षिक अधिकतम १,३०,००० भिसा सीमित गर्ने घोषणा गरेको छ, जसले हाल श्रमिक पार्टी (Labor) को नीतिअनुसार भइरहेको आप्रवासनको तुलनामा ५७०,००० को कटौती गर्नेछ।

सिनेटर ह्यान्सनले आप्रवासीहरूलाई स्थायी नागरिकता र सरकारी सहायता प्राप्त गर्नका लागि ८ वर्षसम्म प्रतीक्षा गर्नुपर्ने प्रस्ताव राखेकी छन्। “नयाँ आउने आप्रवासीहरूले अस्ट्रेलियाली नागरिक बन्नका लागि लामो समयसम्म योग्य रहेको प्रमाणित गर्नुपर्नेछ।”

वन नेशनको नीति अनुसार विदेशी विद्यार्थीहरूको सङ्ख्या घटाइनेछ र अस्ट्रेलियाली विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ। अध्ययनको माध्यमबाट स्थायी बसोबास प्राप्त गर्ने loophole बन्द गरिनेछ, साथै विदेशी विद्यार्थीहरूले आफ्ना परिवारका सदस्यहरूलाई अस्ट्रेलिया ल्याउन नपाउने नियम लागु गरिनेछ।

समुद्री बाटो हुँदै गैरकानूनी आप्रवासन रोक्न वन नेशनले अस्थायी संरक्षण भिसा (Temporary Protection Visas – TPVs) पुनः लागु गर्ने प्रस्ताव गरेको छ। ह्यान्सनका अनुसार “लेबर सरकारले TPVs हटाएपछि मानव तस्करहरूले अस्ट्रेलियाको सिमाना परीक्षण गर्न थालेका छन्। हाम्रो नीतिले यसलाई पुनः स्थापित गर्नेछ।”

वन नेशनको नीतिअनुसार, अतिवादी विचारधारा फैलाउने देशहरूबाट आउने व्यक्तिहरूलाई अस्ट्रेलियामा प्रवेश दिन अस्वीकार गरिनेछ। “मुख्य राजनीतिक दलहरूको असफलताले विगत वर्षभरि अस्ट्रेलियामा हिंसा र अशान्ति निम्त्याएको छ। यसलाई रोक्नका लागि हामी संयुक्त राष्ट्रसंघको शरणार्थी सन्धि (UN Refugee Convention) बाट बाहिरिनेछौं,” ह्यान्सनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको