कन्दरा व्याण्डको पुनरागमन: ९ वर्षपछि नेपाल फेस्टिभल मेलबर्नमा विशेष प्रस्तुति !

कन्दरा व्याण्डको पुनरागमन: ९ वर्षपछि नेपाल फेस्टिभल मेलबर्नमा विशेष प्रस्तुति !
नेपालआईज
१६ फागुन २०८१ १०:२४




मेलबर्नमा आगामी मार्च १५ तारिख नेपाल फेष्टिभल आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्य संयोजन समितिको आयोजनामा हुने नेपाल फेष्टिभलमा यस पटक कन्दरा व्याण्ड मुख्य आकर्षणको रुपमा रहनेछ । कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठका लागि मेलबर्न विशेष छ, किनकि उनले यहीँ घरजम गरे । 

पहिले घरदेश अनि परदेश भन्ने नाराका साथ कन्दरा व्याण्डको वल्र्ड टुर गरिरहेका गायक विवेक श्रेष्ठलाई अष्ट्रेलियाका पाँच शहरका नेपाल फेष्टिभलहरुमा मुख्य व्याण्डका रुपमा सहभागी हुँदा जुन रोमाञ्चकता महसूस भइरहेको छ त्यसभन्दा फरक मेलबर्नको विषयमा उनी सोच्दछन् । उनले भने, मेलबर्नसँग मेरो आफ्नै भावना छ । २०१६ को कन्सर्ट मेरो जीवनकै एउटा मोड थियो । जसले पक्कै पनि मलाई नोस्टाल्जिक बनाउँछ । 


व्याण्डले घरदेशदेखि परदेशसम्म नारा नेपालको आन्तरिक पर्यटनलाई समेत प्रबद्र्धन गर्ने उद्देश्य राखेर तय गरेका थियो । यही नारा बोकेर नेपालका विभिन्न शहरमा, विश्वका विभिन्न कुनामा कन्सर्ट गरिरहेको कन्दराका गायक श्रेष्ठ भन्छन् , “मेलबर्न आइपुग्दा त मलाई परदेश होइन घरदेश भन्ने भावना आउँछ होला ।”


फेडेरेसन स्क्वायरमा नेपाल फेष्टिभल हुनुअघि गरिने परेडमा पनि सहभागी हुने तयारी गरेका गायक श्रेष्ठको साथमा कन्दरा व्याण्डका ८ जना सदस्य सहभागी हुनेछन् । सन् २०१६ मा अष्ट्रेलियाका विभिन्न पाँच शहरमा नै नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिएको कन्दरा व्याण्डले ९ वर्षपछि फेरि सांगीतिक माहोल तताउनेछ ।


करिब २ वर्षको तयारीपछि नयाँ स्वरुपमा पुरानै मेलोडी बोकेर दर्शकश्रोतामाझ आएको कन्दराले नेपाल फेष्टिभलमा सबै उमेर समूहका दर्शकलाई आफ्ना गीत र संगीतमा झुमाउने प्रयास गर्नेछ । गायक श्रेष्ठले भने, “नेपाल फेष्टिभलको सबैभन्दा उत्साहजनक पक्ष भनेको यहाँ सबै उमेर समूहको दर्शक एकै ठाउँमा हुन्छन् । उनीहरु त्यहाँ देश सम्झिन आइपुग्छन् । हामी सांगीतिक रुपमा उहाँहरु सबैलाई नेपालका गाउँ ठाउँमा, कुना कन्दरामा डुलाउनेछौं ।”
गायक श्रेष्ठ कन्दराका गीतहरुले पुरानो ९० को दशकको पुस्तालाई मात्र होइन अहिलेको कन्सर्ट कल्चरमा रमाएको नयाँ पुस्तालाई समेत नचाउने विश्वास राख्छन् । पुरानो जेनेरेसनका सुपरहिट मेलोडी र गीतलाई नयाँ जेनेरेसनमा पास गराउने एउटा राम्रो अवसर भएको पनि उनको ठम्याई छ । 


उनले दर्शकहरुलाई आमन्त्रण गर्दै भने, “फेडरेसन स्क्वायरमा मार्च १५ तारिख भेटौंला, सँगै मिलेर झुमौंला, नाचौंला अनि देशलाई सम्झौंला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको