छत्र शंकर –
गैरआवासीय नेपाली संघ (NRNA) न्यूजिल्यान्डको आगामी निर्वाचनका लागि डा. अच्युत अर्यालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले संस्थालाई अझ सक्रिय, प्रभावकारी, र समावेशी बनाउन प्रतिबद्ध रहेको बताउँदै सबै नेपाली समुदायको साथ, सहयोग, र समर्थन गर्न आग्रह गरेका छन्।
साथै डा. अर्यालले NRNA को सदस्यता लिन सबैलाई आग्रह गर्दै नयाँ सदस्यता तथा नवीकरण प्रक्रियाबारे जानकारी दिएका छन्। नयाँ सदस्यता लिन इच्छुकले SMART NRNA मोबाइल एप (iOS / Android) डाउनलोड गरी आवश्यक विवरण भरेर दर्ता गर्न सक्नेछन्। त्यस्तै, हालका सदस्यहरूले एप वा आधिकारिक वेबसाइटमार्फत आफ्नो सदस्यता नवीकरण गर्न सक्नेछन्।
उनको उम्मेदवारीसँगै NRNA न्यूजिल्यान्डको नेतृत्व परिवर्तनको विषयमा नेपाली समुदायमा चासो बढ्दै गएको छ।
को हुन अर्याल
हाल एनआरएनए न्युजिल्यान्डको उपाध्यक्ष (२०२३-२५) का रूपमा कार्यरत अर्याल एक सफल उद्यमी, वैज्ञानिक, तथा सहायक प्राध्यापक हुन्, जो न्युजिल्यान्ड र अष्ट्रेलियामा शिक्षा क्षेत्रसँग सम्बन्धित छन्।
चुनावी एजेण्डा यस्ता छन्
डा.अर्यालले आफ्नो उम्मेदवारी घोषणा गर्दै एनआरएनए न्युजिल्यान्डलाई समावेशी, पारदर्शी र दूरदर्शी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली पहिचान र सांस्कृतिक सम्पदालाई सुदृढ पार्ने, विद्यार्थी, युवाहरू र उद्यमीहरूलाई सशक्त बनाउने, स्वास्थ्य, कल्याण तथा सामुदायिक सेवालाई प्रवर्द्धन गर्ने तथा एनआरएनए नागरिकता र सामुदायिक अधिकारका लागि वकालत गर्ने उनका चुनावी एजेन्डा छन्।
आगामी चुनावमा अन्य उम्मेदवारहरू को-को रहनेछन् र प्रतिस्पर्धा कस्तो रहनेछ भन्ने चर्चा न्यूजिल्यान्डको नेपाली समुदायमा सुरु भएको छ।