अस्ट्रेलियन भिसाका लागि आवेदन दिने प्रक्रियामा नक्कली आप्रवासन एजेन्टहरूले ठगी गर्ने घटनाहरू सामाजिक सञ्जालमार्फत बढ्दो रहेको डिपार्टमेन्ट अफ होम अफेयर्स ले जनाएको छ। यस्ता एजेन्टहरूले अत्यधिक शुल्क लिने, नक्कली कागजात प्रयोग गर्ने, झूटो आश्वासन दिने वा अवैध रूपमा अष्ट्रेलियामा काम गर्न प्रोत्साहित गर्ने जस्ता कार्य गर्न सक्छन्।
अष्ट्रेलियामा कानुनी रूपमा भिसा परामर्श दिने अधिकार केवल दर्ता भएका I आप्रवासन एजेन्टहरू (Office of the Migration Agents Registration Authority – OMARA) वा अष्ट्रेलियन कानूनी व्यवसायीहरूसँग मात्र हुन्छ। यदि तपाईं अष्ट्रेलियाबाहिरबाट आवेदन दिइरहनुभएको छ भने दर्ता भएका आप्रवासन एजेन्ट वा अष्ट्रेलियन कानूनी परामर्शदातासँग मात्र परामर्श लिन गृह बिभागले अनुरोध गरेको छ।
एउटा आप्रवासन एजेन्ट दर्ता छ वा छैन भन्ने थाहा पाउन OMARA वेबसाइटमा खोजी गर्न सकिन्छ। दर्ता भएका प्रत्येक आप्रवासन एजेन्टसँग “Migration Agents Registration Number (MARN)” हुन्छ। सेवा लिनेअघि सम्बन्धित एजेन्टसँग MARN मागेर OMARA वेबसाइटमा पुष्टि गर्नु आवश्यक छ।
⚠️ नक्कली एजेन्टको फन्दामा परेमा हुने जोखिमहरू
📌 ठूलो मात्रामा रकम गुमाउने
📌 भिसा रद्द हुने
📌 भविष्यमा अष्ट्रेलियन भिसाका लागि अयोग्य ठहरिने
📌 अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लाग्ने
📌 अष्ट्रेलियामा अलपत्र पर्ने वा आफ्नै देश फर्किन बाध्य हुने
भिसा ठगी कसरी पहिचान गर्ने भन्ने थप जानकारीको लागि What you need to know about visa scams पृष्ठ हेर्नुहोस्। यदि तपाईंले भिसा ठगीबारे केही थाहा पाउनुभएको छ वा ठगीको सिकार हुनुभएको छ भने Border Watch पृष्ठमा गएर रिपोर्ट गर्नुहोस्। थप जानकारीका लागि Visa scams पृष्ठमा जान सक्नुहुन्छ।