छत्र शंकर / मेलबर्न
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले केही दिनअघि एउटा कार्यक्रममा दूतावासको सेवा सुधार गर्ने प्रतिबद्धता जनाउँदै, फोन नउठे आफ्नो व्यक्तिगत नम्बरमा समेत सम्पर्क गर्न सकिने बताइन्।
उनले आम नेपालीका लागि आफ्नो मोबाइल नम्बर समेत सार्वजनिक गरिन्। यो कदमप्रति सहभागीहरूले ताली बजाएर समर्थन जनाए र कतिपयले त हतार-हतार फोन नम्बर टिप्न भ्याए। भन्ने बित्तिकै नम्बर नोट गर्न नसक्नेहरूले छेउछाउका साथीभाइलाई सोधेर राजदूतको नम्बर पाएकोमा खुशी देखिन्थे।
तर, कूटनीतिक वृत्तमा भने यसले केही प्रश्नहरू उठाएको छ—कूटनीतिक मर्यादा, व्यक्तिगत सुरक्षा/गोपनीयता, र व्यवहारिकताको दृष्टिले राजदूतले व्यक्तिगत फोन नम्बर सार्वजनिक गर्नु उचित हो कि होइन?
कूटनीतिक मामिलाका विज्ञहरू भन्छन्—राजदूतसँग सम्पर्क गर्न औपचारिक च्यानलमार्फत नै आउनुपर्छ। सामान्यतः दूतावासका इमेल वा आधिकारिक फोन नम्बर प्रयोग गरिन्छ, किनकि यसले सुरक्षा र व्यावसायिकता सुनिश्चित गर्छ।