अस्ट्रेलियाका  नेताहरूको मन्दिर मोह: चुनावमा धार्मिक समीकरणको प्रभाव

अस्ट्रेलियाका  नेताहरूको मन्दिर मोह: चुनावमा धार्मिक समीकरणको प्रभाव
नेपालआईज
११ चैत २०८१ २०:३९

अस्ट्रेलियामा हालैका वर्षहरूमा हिन्दू धर्मावलम्बीहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। २०२१ को जनगणना अनुसार, अस्ट्रेलियामा हिन्दू जनसंख्या ६ लाखभन्दा बढी पुगेको छ, जुन कुल जनसंख्याको झन्डै २.७% हो। अप्रवासी समुदायको वृद्धि संगै, हिन्दू धर्मावलम्बीहरूको उपस्थिति मात्र होइन, राजनीतिक प्रभाव पनि विस्तार भईरहेको छ।

यसै सन्दर्भमा, अस्ट्रेलियामा संघीय तथा प्रादेशिक चुनाव नजिकिँदै गर्दा हिन्दू समुदायको समर्थन जुटाउन प्रधानमन्त्रीदेखि विपक्षी दलका नेताहरू हिन्दू मठ-मन्दिर धाउन थालेका छन्। यो परिघटना नेपाली राजनीतिको चस्माले हेर्दा अचम्म लाग्न सक्छ। नेपालमा कुनै प्रधानमन्त्री वा ठूला नेताहरू मन्दिर धायो भने यसलाई धार्मिक राजनीति भन्दै आलोचना गरिन्छ, तर अस्ट्रेलियामा यो चुनावी समीकरणको एक हिस्सा बनेको छ।

अस्ट्रेलियामा नेता वा जनप्रतिनिधिहरू चर्च वा मस्जिद गएको खासै समाचार बन्दैन। तर, हालै हिन्दू मन्दिरहरूमा नेताहरूको बाक्लो उपस्थिति रहनुले नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। धर्मनिरपेक्ष मानिएको अस्ट्रेलियामा किन नेताहरू अचानक मन्दिर धाउन थाले त?

मतदानको गणित: हिन्दू समुदायले अब अस्ट्रेलियाको चुनावमा निर्णायक भुमिका खेल्न सक्ने देखिएको छ। खासगरी सिड्नी, मेलबोर्न, ब्रिस्बेनजस्ता शहरमा हिन्दू जनसंख्या उच्च रहेकोले नेताहरू उनीहरूको समर्थन लिन सक्रिय भएका छन्।

 सांस्कृतिक एकता र प्रभाव: हिन्दू धर्मावलम्बीहरू धार्मिक पर्वहरूमा ठूलो सहभागिता जनाउँछन्। दुर्गा पूजा, दीपावली, राम नवमी, र कृष्ण जन्माष्टमी जस्ता अवसरहरूमा नेताहरूको उपस्थिति समुदायमा सकारात्मक सन्देश दिन्छ।

प्रवासी समुदायलाई जोड्ने रणनीति: अस्ट्रेलियाका हिन्दूहरू मुख्यतः भारत, नेपाल, श्रीलंका, फिजी, र बंगलादेशबाट आएका छन्। यी समुदायहरूको संगठित रूपमा विकास भइरहेको देखेर नेताहरू उनीहरूलाई आफ्नो पक्षमा पार्न धार्मिक स्थलहरूमा पुगिरहेका छन्।

नेपालमा यदि कुनै प्रधानमन्त्री वा विपक्षी नेताले धार्मिक स्थल भ्रमण गर्यो भने यसलाई धर्म र राजनीतिलाई मिसाउने काम भनेर आलोचना गरिन्छ। नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि धार्मिक मुद्दाहरू चर्काे बहसको विषय बन्ने गर्छन्।

तर अस्ट्रेलियामा यसलाई सामान्य रूपमा लिइन्छ। यहाँ चर्च, मस्जिद वा मन्दिर जानु नेताहरूको व्यक्तिगत वा सांस्कृतिक सहभागिता मात्र मानिन्छ। तर, अहिले हिन्दू समुदायको बढ्दो संख्यासँगै नेताहरूको मन्दिर भ्रमणले चुनावी रणनीतिको रूपमा नयाँ परिप्रेक्ष्य ल्याएको छ।

अस्ट्रेलियामा हिन्दू धर्मावलम्बीहरूको वृद्धि राजनीतिक दलहरूको रणनीतिमा नयाँ मोड ल्याएको छ। नेपालमा जस्तै यहाँ पनि राजनीति र धर्मको सम्बन्धलाई चासोका साथ हेरिन्छ, तर यसलाई खुला समाजको दृष्टिकोणले बुझिन्छ। नेपालका नेताहरूले धर्मलाई चुनावी अस्त्रका रूपमा प्रयोग गरे आलोचना खेप्नुपर्छ, तर अस्ट्रेलियामा यो राजनीतिक कूटनीतिका रूपमा हेरिन्छ।

 यो परिघटना अस्ट्रेलियामा हिन्दू समुदायको प्रभाव बढ्दै गएको स्पष्ट संकेत हो। राजनीतिमा धार्मिक आस्थाको उपयोग गर्नु सकारात्मक कि नकारात्मक हो भन्ने बहस अलग हुन सक्छ, तर अस्ट्रेलियामा हिन्दू धर्मावलम्बीहरू राजनीतिक रूपमा अझ प्रभावशाली बन्दै गएको तथ्य अस्वीकार गर्न सकिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको