क्यानबेरा – अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले आउँदो मे ३ मा संघीय चुनाव गराउने घोषणा गरेका छन्।
प्रधानमन्त्री अल्बनीजी र विपक्षी नेता पिटर डटनले आगामी संसदीय कार्यकालका लागि आ–आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेका छन्। अब उनीहरू पाँच सातासम्म चल्ने चुनावी अभियानमा केन्द्रित हुनेछन्, जसमा दुवैले आफू देशको नेतृत्व गर्न योग्य भएको प्रमाणित गर्ने प्रयास गर्नेछन्।
चुनावको मिति घोषणासँगै अष्ट्रेलियामा राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्री अल्बनीजी नेतृत्वको लेबर पार्टी र विपक्षी नेता डटनको लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। आगामी हप्ताहरूमा दुवै नेताले आफ्नो नीति, योजना, र रणनीति सार्वजनिक गर्दै मतदातालाई आकर्षित गर्नेछन्।
चुनावी अभियानमा जीवनयापन खर्च प्रमुख मुद्दा बन्ने सम्भावना
अघिल्लो दुई वर्षदेखि उच्च मुद्रास्फीति कायमै रहेका कारण परिवारहरू र व्यवसायहरू आर्थिक दबाबमा परिरहेका छन्। यस्तो अवस्थामा, जीवनयापन खर्च चुनावी अभियानको मुख्य मुद्दा बन्ने देखिएको छ। प्रमुख दलहरूले यस समस्याको समाधानका लागि आ–आफ्ना योजना अघि सारेका छन्।
चुनावी प्रचारको पहिलो हप्ता निकै उथलपुथलपूर्ण हुन सक्ने आँकलन गरिएको छ। मङ्गलबार अष्ट्रेलियाली रिजर्भ बैंकले नगद ब्याजदरबारे महत्वपूर्ण निर्णय लिनेछ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ (अमेरिकी समयअनुसार) नयाँ शुल्क (ट्यारिफ) घोषणा गर्ने धम्की दिएका छन्। यी घटनाक्रमहरूले अष्ट्रेलियाली चुनावी अभियानमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ।
हालको जनमतअनुसार, लेबर सरकारले तीन सिट मात्र गुमाएमा अल्पमत सरकार बन्न सक्छ, भने कोएलिसनले १९ सिट थप्न सकेमा पूर्ण बहुमतको सरकार गठन गर्न सक्छ। यस्तै समीकरणका कारण विश्लेषकहरूले झिनो अन्तरसहितको “हङ्ग पार्लियामेन्ट” (अल्पमत संसद) बन्ने सम्भावना सबैभन्दा बढी रहेको बताएका छन्।