Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
होबार्ट – तास्मानियाको प्रतिष्ठित “Young Achiever Awards 2025” अन्तर्गतको “Heather & Christopher Chong Community Service & Volunteering Award” का लागि नेपाली मूलका युवा कमल भण्डारी फाइनलिस्टमा चयन भएका छन्।
समुदाय सेवा र स्वयंसेवामा सक्रिय योगदान पु¥याउँदै आएका भण्डारी तास्मानियाली समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। उनी चार जना उत्कृष्ट युवा सामाजिक अभियन्तामध्ये एक हुन्, जसलाई यस वर्षको अवार्डका लागि अन्तिम प्रतिस्पर्धीको रूपमा छनोट गरिएको हो।कमलसँगै डिलन मङ्क्स, किर्स्टन होवार्ड र नेड वाइज पनि यस अवार्डको फाइनल सूचीमा परेका छन्।
कमल भण्डारीको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलता मात्र नभई अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।
भण्डारी को हुन्?
भण्डारी सन् २०१८ मा अष्ट्रेलिया आएका थिए। सिड्नीमा रहेर उनले Central Queensland University, Sydney बाट Master of Professional Accounting (MPA) गरेका भण्डारी तास्मानियाको नेपाली समुदायका दुःख–सुखका साथी हुन्।
उनी हाल Tasmanian Nepalese Cricket Association का अध्यक्षको रूपमा कार्यरत छन्। खेल क्षेत्रको माध्यमबाट समुदायमा एकता, सहभागिता र पहिचान निर्माण गर्ने उनको प्रयास प्रशंसनीय छ।
सामाजिक सेवाको क्षेत्रमा पनि कमलको भूमिका उल्लेखनीय छ। उनी Uniting AgeWell मा Care Organiser को रूपमा काम गरेका थिए, जहाँ उनले ज्येष्ठ नागरिकहरूको हेरचाह र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्।
पेशा र उद्यमशीलता दुबै क्षेत्रमा उनको सक्रियता छ। उनी BASU PENS का सह-संस्थापक तथा मार्केटिङ विशेषज्ञको रूपमा काम गरेका हुन्। त्यसैगरी, उनी Personal Mastery Academy का पनि सह-संस्थापक हुन्, जसको स्थापना २२ सेप्टेम्बर २०१९ मा भएको हो। यो संस्थामार्फत उनले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र नेतृत्व क्षमतामा सुधार ल्याउने अभियानलाई अगाडि बढाइरहेका छन्।
यसअघि उनी Aspen Medical Australia मा Project Support Officer, VAT Logistics Coordinator, र Administrative Support Assistant लगायतका विभिन्न भूमिकामा कार्यरत थिए। यी सबै भूमिकामा उनले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो दक्षता र व्यवस्थापकीय क्षमता प्रस्तुत गरेका छन्।
तास्मानियामा नेपाली क्रिकेटको पहिचान बनाउँदै भण्डारी
२०२१ मा तास्मानिया प्रवेश गरेका भण्डारी त्यहाँ आएपछि नेपाली सामुदायिक संस्थामा सक्रिय हुँदै आए। उनी समुदायको आवाजलाई स्थानीय सरकारसम्म पुर्याउने कार्यमा निरन्तर लागिरहेका छन्।
उनले तास्मानिया नेप्लिज क्रिकेट एसोसियसनमार्फत आफ्नो पहिलो कार्यकालमै ‘प्रिमियर लिग’ को शुरुवात गरे। समुदायलाई खेलमार्फत एकजुट पार्न सफल भएका भण्डारीलाई Cricket Tasmania ले ‘Volunteer of the Year’ को उपाधिसमेत प्रदान गर्यो।
“हामीले क्रिकेटमार्फत तास्मानियाको नेपाली समुदायलाई जोड्ने काम गरिरहेका छौं,” भण्डारी भन्छन्, “महिला र जुनियर क्रिकेट पनि समान रूपमा अघि बढाएका छौं।”
उनका अनुसार हाल तास्मानियामा नेपाली समुदायका चार वटा क्लबबाट संख्या बढेर दश क्लबसम्म पुगेको छ। नेपाली क्रिकेटको विकासलाई लिएर उनी उत्साहित छन्। “तास्मानियामा नेपाली क्रिकेटको निकै प्रशंसा हुँदै आएको छ,” भण्डारी थप्छन्।