ताज्मानिया – पछिल्ला दुई दशकमा ताज्मानियामा नेपाली आप्रवासी समुदायको तीव्र वृद्धि भएसँगै, त्यहाँको सामाजिक संरचना, नेतृत्व क्षमता र एकताबारे अध्ययन गर्न विशेष अनुसन्धान परियोजना सुरु गरिएको छ।
हाल ताज्मानियामा करिब ८,००० नेपालीहरू स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका छन्, जसले नेपालीहरूलाई तेस्रो ठूलो आप्रवासी समुदायको रूपमा उभ्याएको छ। अष्ट्रेलियाको आप्रवासी विविधताभित्र नेपाली समुदाय शीर्ष १० आप्रवासी मुलुकहरूमध्ये एक बनेको छ।
सन् २०१७ पछिदेखि ताज्मानियामा नेपालीहरूको आगमन उल्लेखनीय रूपमा बढेको भए पनि स्थायी बसोबास (PR) प्राप्त गरेपछि अन्य राज्यतर्फ सर्ने प्रवृत्ति देखिएको छ। यसै परिप्रेक्ष्यमा, ताज्मानियामा नेपाली समुदायको दीर्घकालीन स्थायित्व, सामाजिक एकता र नेतृत्व क्षमताको विश्लेषण गर्न अध्ययन सुरु गरिएको हो।
अनुसन्धानको नेतृत्व र साझेदारी
यस अनुसन्धान परियोजनाको नेतृत्व युनिभर्सिटी अफ ताज्मानियाका डा. सन्तोष अधिकारीले गरिरहेका छन्। स्कानलोन फाउण्डेसन र ताज्मानियाको प्रिमियर तथा क्याबिनेट विभागले परियोजनालाई आर्थिक सहयोग पुर्याएका छन्।
परियोजनामा नेपाली सोसाइटी अफ ताज्मानिया, नेपाली सोसाइटी अफ नर्दन ताज्मानिया, एनआरएनए ताज्मानिया, तथा मल्टिकल्चरल काउन्सिल अफ ताज्मानिया ले सहकार्य तथा प्रवर्द्धन गरिरहेका छन्।
परियोजनाको उद्देश्यहरू
• नेपाली आप्रवासीहरूको सामाजिक सद्भाव, एकता, समावेशीकरण र नेतृत्व विकासको मूल्यांकन गर्ने
• बसाइँसराइ प्रवृत्ति तथा दीर्घकालीन स्थायित्वको अध्ययन गर्ने
• नीति निर्माताहरूलाई नेपाली समुदायको समुचित एकीकरणका उपायहरू सुझाउने
अध्ययन विधिहरू
अनलाइन सर्वेक्षण – फारम भर्न यहाँ क्लिक गर्नुहोस्
अन्तर्वार्ता – प्रमुख अनुसन्धानकर्तासँग सम्पर्क गर्न: santosh.adhikari@utas.edu.au
समूह छलफल – विभिन्न सहरमा सहभागी नेपालीहरूसँग सिधा संवाद गरिने
उक्त अनुसन्धान UTAS – Human Research Ethics Committee बाट आधिकारिक स्वीकृति प्राप्त अनुसन्धान हो।
यस अध्ययनमार्फत नेपाली आप्रवासी समुदायको भविष्य मार्गचित्र कोर्न मद्दत पुग्ने, र नीति निर्माण तहमा महत्वपूर्ण सूचनाहरू प्रदान गरिने अपेक्षा गरिएको छ
थप जानकारी वा सहभागिताका लागि सम्पर्क गर्नुहोस्:
डा. सन्तोष अधिकारी
University of Tasmania
Email: santosh.adhikari@utas.edu.au