अष्ट्रेलियाबाट आमाको मुख हेर्ने नेपाली छोराछोरीहरू…

अष्ट्रेलियाबाट आमाको मुख हेर्ने नेपाली छोराछोरीहरू…
नेपालआईज
१३ वैशाख २०८२ २३:४७

 

 

छत्र शंकर – 


आमा भनेको सन्तानका लागि सम्पूर्ण सृष्टि हो। आमा आफैँ एउटा संसार, एउटा अस्तित्वको जरा, माया र त्यागको अद्भुत मूर्ति। नेपाली परम्पराअनुसार आमाको मुख हेर्ने दिन – कुशे औँसीलाई  पर्वकै रूपमा मनाइन्छ, जहाँ छोराछोरीहरूले आमाको मुख हेरेर प्रेम, आभार र आशीर्वाद व्यक्त गर्छन्।

तर, अष्ट्रेलियामा बस्ने हामी नेपाली सन्तानहरूका लागि यो दिन विशेषगरी भिन्न अनुभूति बोकेको हुन्छ। सयौं माइल टाढाबाट, समय र दूरीको सीमाभित्र रहेर, हामी आफ्ना आमाको न्यानो काखको सम्झनामा भिजिरहेका हुन्छौँ।

यहाँ अष्ट्रेलियामा जीवनको व्यस्तता, कामको चाप र समयको अभावले गर्दा आमाको हातको ममता छुने अवसर छुटेको छ। भिडियो कल, मोबाइल सन्देश र फाट्टफुट्ट पठाइने उपहारहरूले मात्रै हामी आमाको मायाको क्षणिक अनुभूति गर्न खोज्छौँ।  

तर आमा त भन्छिन् –
“छोराछोरी खुसी भए, राम्रो भए, त्यही नै मेरो खुशी हो।”
उहाँहरूले कहिल्यै धेरै चाहनुहुन्न – न त महँगो उपहार, न त तडकभडक। आमा त सधैँ सन्तानको सम्झनामा खुशी रहन सक्ने प्रेमको प्रतिमूर्ति हुनुहुन्छ।

अष्ट्रेलियामा बस्ने नेपालीहरूका लागि, यो दिन आमाको लागि केही क्षण समय निकालेर सन्देश पठाउने, फोनमा माया पोख्ने वा सम्झनाको कुनै मिठास बाँड्ने अवसर हो। यहाँका व्यस्त सडक, हतारिएका घडीका सुइँहरूबीच हामी आफ्नो मुटुको कुनामा आमालाई सुरक्षित राखिरहेका हुन्छौँ।

“आमाले बिर्सनुहुन्न सन्तानलाई, हामीले बिर्सनुहुन्न आमालाई -दूरी जति नै भए पनि, मायाको दूरी कहिल्यै हुँदैन।”

यस दिन, हामी मध्ये कति छोराछोरीले मूक आँसुका धर्काहरू टिप्छौं, कति जनाले आमाको स्वर सुनेर आफ्नो एक्लोपन लुकाउँछौं। तर ती सबै भावनाहरूको मूलमा एउटै कुरा हुन्छ –
“हाम्रो जीवनको प्रत्येक सफलताको जरो आमा नै हुनुहुन्छ।”

यसपालिको आमाको मुख हेर्ने दिनमा, अष्ट्रेलियामा रहेका हामी सबै नेपाली सन्तानहरूले आफ्ना आमालाई एउटा मिठो सन्देश पठाऔं –


“हामी तपाईंलाई माया गर्छौं आमा,
समुद्र पार भए पनि हाम्रो मुटुको दूरी कहिल्यै टाढा छैन।’’

अष्ट्रेलियामा बस्ने छोराछोहरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको