सिड्नी — अष्ट्रेलियाका चार प्रमुख बैंकका हजारौं ग्राहकहरूको पासवर्ड साइबर अपराधीहरूले अनलाइनमा चोरी गरी बाँडफाँड गरिरहेको खुलासा भएको छ। यी बैंकहरूमा नेपाली ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।
साइबर अनुसन्धान अनुसार, कम्तीमा १४,००० कमन्वेल्थ बैंक (Commbank), ७,००० एएनजेड (ANZ), ५,००० एनएबी (NAB) र ४,००० वेस्टप्याक (Westpac) ग्राहकहरूको गोप्य जानकारी टेलिग्रामजस्ता म्यासेजिङ प्लेटफर्म र डार्क वेबमा भेटिएको छ।
साइबर सुरक्षा विज्ञहरूका अनुसार, यस्ता पासवर्ड चुहावटका कारण ग्राहकहरूलाई प्रत्यक्ष आर्थिक नोक्सानीको खतरा “निश्चित रूपमा” रहन्छ। यद्यपि बैंकहरूले आफ्ना सुरक्षा प्रणालीहरू बलियो बनाएका छन्, पासवर्ड चोरी भने ग्राहकहरूको व्यक्तिगत उपकरणहरूबाट भएको पुष्टि भएको छ।
यो घटना हालै अष्ट्रेलियाका सुपरएनुएसन फन्डहरूमा भएका साइबर आक्रमणहरूसँग मेल खान्छ, जहाँ पेन्सन भोगीहरूका खाताबाट रकम चोरी गरिएको थियो र चुहिएका पासवर्डहरू प्रयोग गरेर अन्य खातामा पनि पहुँचको प्रयास गरिएको थियो।
अष्ट्रेलियाली साइबर खुफिया कम्पनी डीभल्न (Dvuln) का अनुसार, चोरी भएका पासवर्डहरू बैंकको प्रणालीबाट नभई, प्रयोगकर्ताका मोबाइल, ल्यापटप वा कम्प्युटर जस्ता व्यक्तिगत उपकरणहरूमा ‘इन्फोस्टिलर’ (Infostealer) नामक मालवेयरको संक्रमणबाट चोरी भएका हुन्।
“यो बैंकको कमजोरी होइन, ग्राहकका उपकरणमा भाइरस संक्रमण भएको कारण पासवर्ड चोरी भएको हो,” डीभल्नका संस्थापक जेमी ओ’रेलीले स्पष्ट पारे।
सुरक्षा विशेषज्ञहरूले सबै ग्राहकहरूलाई आफ्नो डिजिटल उपकरणमा अपडेटेड एण्टि-भाइरस सफ्टवेयर प्रयोग गर्न, दुई तहको प्रमाणीकरण (Two-Factor Authentication) लागू गर्न र अनधिकृत एप्स वा लिङ्कहरूबाट टाढा रहन सुझाव दिएका छन्।