एनआरएनए (गैर आवासीय नेपाली संघ) अष्ट्रेलियाको आगामी निर्वाचनले नयाँ नेतृत्वको खोजी सुरु गरिसकेको छ। हालै, दुई चर्चित अनुहार डार्विनका सन्जिव गोर्खाली ढकाल र क्वीन्सल्याण्डका सन्तोष कुँवर ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जालमार्फत आफू चुनावी मैदानमा रहेको औपचारिक जानकारी दिएका छन्। गोर्खाली हाल नर्दन टेरिटोरी संयोजक छन् भने कुँवर संघका महासचिवको भूमिकामा छन्।
यद्यपि यी उम्मेदवारीहरू व्यक्तिगत रूपमा प्रस्तुत गरिए पनि, एनआरएनए अष्ट्रेलियाको चुनावी संस्कार नियाल्दा यहाँ “व्यक्तिगतले जित्दैन, गठबन्धनले जिताउँछ” भन्ने मान्यता चल्ने गरेको पाइन्छ।
उम्मेदवारीमात्रै होइन, समर्थनको ‘ह्याङ्गो’ खोजिँदै
एनआरएनए अष्ट्रेलियामा, उम्मेदवारहरूको सफलतामा उनीहरू कुन राजनीतिक पृष्ठभूमिका संगठनहरूसँग आबद्ध छन्, कुन राज्यका कति प्रतिनिधिहरू सक्रिय छन्, र कुन मिडिया तथा समुदायिक संगठनको समर्थन प्राप्त गर्छन् भन्ने कुरा निर्णायक बन्छ। विशेषगरी अष्ट्रेलियाको संघीय प्रणाली अनुसार, प्रत्येक राज्य र सहरमा छरिएर रहेका नेपालीहरूले आफ्नो पहिचान, पहुँच र रणनीतिका आधारमा उम्मेदवार तय गर्न भूमिका खेल्छन्।
तर हालसम्म गोर्खाली र कुँवर दुवैले आफ्नो आधिकारिक समर्थन समूह वा गठबन्धन खुलासा गरिसकेका छैनन्, र कुनै ठूला प्रवासी संघ वा राजनीतिक संगठनले तिनीहरूको पक्षमा समर्थन घोषणा गरेको छैन।
‘कसले जित्ने’ हैन, ‘कसलाई जिताइने’ भन्ने बहस
अहिलेसम्मको वातावरणले बुझाउँछ कि, यो प्रतिस्पर्धा केवल उम्मेदवारको लोकप्रियता र सक्रियताको हो मात्र होइन , यो व्यापक नेटवर्किङ, राज्यगत गठबन्धन र संस्थागत समर्थनको खेल हो। अघिल्ला निर्वाचनहरूमा जस्तै राजनीतिक दलका भातृ संगठनहरू, जस्तै नेपाली कांग्रेस, एमाले, माओवादी समर्थित प्रवासी संघहरू र सिड्नी, मेलबर्न, ब्रिसबेनजस्ता ठूला सहरका प्रभावशाली व्यक्तित्वहरूको लाइनअपले खेल बदल्न सक्छ।
यदि यो सन्दर्भमा कसले कुन दल वा समूहको आशीर्वाद लिन्छ भन्ने कुरा चाँडै बाहिर आयो भने, त्यसले “यिनी जित्ने रहेछन्” भन्ने सन्देश मतदाताबीच फैलिन थाल्नेछ।
सन्जिव गोर्खाली र सन्तोष कुँवर दुबै सक्रिय र अनुभवी अनुहार हुन्। तर, एनआरएनए अष्ट्रेलियामा चुनाव जित्न केवल क्षमता र सामाजिक सञ्जालको पोस्ट पर्याप्त हुँदैन। संस्थागत समर्थन, राजनीतिक सन्तुलन, राज्यगत समीकरण, र उम्मेदवारको “समूहगत सामर्थ्य” निर्णायक बन्छ। त्यसैले यो चुनाव ‘कसले जित्छ’ होइन, ‘कसलाई जिताइन्छ’ भन्ने रणनीतिमा परिणत हुँदैछ।