Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियामा हुर्केकी नेपाली छोरी राशी, नेतृत्वको दौडमा समाजसेवाको प्रेरणादायी कथा
छत्र शंकर
२८ असार २०८२ २:३७
अष्ट्रेलिया । सन् २००८ मा १२ वर्षको कलिलो उमेरमा आफ्ना बाबुआमासँग अष्ट्रेलिया आएकी एक बालिका राशी सिंह ठकुरीको कथा आज अष्ट्रेलियाली मूलधार र नेपाली समुदाय दुवैतर्फ प्रेरणाको स्रोत बनेको छ। अष्ट्रेलियाको शिक्षालयदेखि संसद भवनसम्म पुर्याउने उनको यात्राले नेपाली समुदायमा प्रेरणा थपेको छ। कक्षा ८ बाट ब्रन्सविक सेकेन्डरी कलेजमा अध्ययन सुरु गरेकी राशीले आफ्नो कडा परिश्रम र लगनशीलताले नेपाली समुदायको मात्र नभई अष्ट्रेलियाली समाजमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्। राशी आफ्नो विद्यालयमा कक्षा १२ मा इन्टरनेशनल स्टुडेन्ट क्याप्टेन भएकी थिइन्।
उनको शैक्षिक उपलब्धि र अतिरिक्त क्रियाकलापका आधारमा उनलाई सन् २०१३ मा तत्कालिन भिक्टोरियाका शिक्षामन्त्री मार्टिन डिक्सनद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी ग्लोबल सिटिजनशिप कमेंडेशन अवार्ड बाट संसद भवनमा सम्मानित गरियो। यसैगरी, सन् २०१४ मा पनि उनले सोही शिक्षामन्त्रीबाट संसद भवन भिक्टोरियामा अन्तर्राष्ट्रिय विद्यार्थी ग्लोबल सिटिजनशिप फाइनलिस्ट अवार्ड प्राप्त गरिन्। यो अवार्ड राज्य शिक्षा विभागबाट संसद भवनमा प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्।
राशीको कथा केवल समाजसेवासम्म सीमित छैन, उनको शैक्षिक यात्रा पनि त्यत्तिकै प्रेरणादायी छ। अष्ट्रेलियामै शिक्षादीक्षा लिएकी राशीले सन् २०१९ मा Management, Entrepreneurship, and Innovationविषयमा स्नातक पूरा गरिन्। त्यो पनि ३० प्रतिशत छात्रवृत्तिसहित जुन उनीजस्तै धेरै युवाका लागि गर्वको विषय हो। “पढाइमै केही फरक गरौं भन्ने सोच थियो, त्यसैले नयाँ विचार र उद्यमशीलताको संयोजन भएका विषय रोजें,” उनी सम्झिन्छिन्।
सामुदायिकयात्रा…
यी अवार्डहरूले राशीलाई नेपाली समुदायमा थप परिचित गरायो र यससँगै उनको सामुदायिक सेवाको यात्रा सुरु भयो। सन् २०१५ को नेपालको विनाशकारी भूकम्पपछि उनले यूएन वुमन क्यानबेरा सँगको सहकार्यमा आफ्नो पहिलो नेपाली सामुदायिक परियोजना सुरु गरिन्, जसमा उनले कोष संकलन र चेतना अभिवृद्धिको काम गरिन्।
सन् २०१७ देखि २०२२ सम्म उनी वेल्फेयर नेपालमा सल्लाहकारको रूपमा पूर्वी नेपालका विपन्न बालबालिकालाई सहयोग पुर्याउन सक्रिय रहिन्। गैर-आवासीय नेपाली संघ भिक्टोरिया महिला फोरममा पनि उनको सक्रिय भूमिका रहेको छ। उनी सन् २०२१-२०२३ सम्म नारी निकुन्जको डिपुटी कोर्डिनेटर र सन् २०२३-२०२५ सम्म संयोजकको रूपमा कार्यरत छिन्। साथै, उनी सन् २०२५-२०२७ का लागि एनआरएनए भिक्टोरिया राज्य समन्वय परिषद्को सचिव पदकी उम्मेदवार पनि हुन्।
उनको सामाजिक कार्यको सूची यतिमा मात्र सीमित छैन। सन् २०२१-२०२३ सम्म उनी लेबर – ग्रीनभेल शाखा को उपाध्यक्ष थिइन् भने सन् २०२०-२०२२ सम्म क्राइम स्टपर्स भिक्टोरियाको राजदूतको रूपमा पनि काम गरिन्। सन् २०२४ मा मेलबर्नमा आयोजित पहिलो राष्ट्रिय अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गर्नमा पनि राशीको महत्वपूर्ण भूमिका थियो। उक्त कार्यक्रममा अष्ट्रेलियाका सबै ६ राज्य र २ क्षेत्रका नारी निकुञ्जका प्रतिनिधिहरू भेला भएका थिए र तत्कालिन राजदूत पनि कार्यक्रममा उपस्थित थिए।
एकता चाडपर्वका लागि मात्र होइन…
राशी सिंह ठकुरी नेपाली समुदायमा देखिएको एकता र समावेशीताको कमी लाई एक प्रमुख मुद्दाको रूपमा लिन्छिन्। उनी भन्छिन्, “मेरो लक्ष्य सबै नेपाली समुदायहरूलाई एकजुट गर्नु हो, केवल चाडपर्व र नेपाल महोत्सव मनाउनका लागि मात्र होइन, तर राज्य सरकारसमक्ष नेपाली संस्कृति, जातीयता, भाषा, सामान्य घरायसी समस्याहरू र भिक्टोरियामा बढ्दै गइरहेको नेपाली समुदायको हकहितको वकालत गर्नका लागि पनि।” एनआरएनएमा महिला सहभागिताको विषयमा राशीको स्पष्ट धारणा छ।
उनी भन्छिन्, “एनआरएनएमा, विशेषगरी राज्य समन्वय परिषद्मा महिला सहभागिता साँच्चिकै सीमित छ, जुन पुरुष प्रधानताको गलत धारणाका कारण हो।” यद्यपि, उनी यसलाई निराधार मान्छिन् र भन्छिन्, “यदि तपाईंले निरन्तर आफ्नो समर्पण, लगनशीलता, र सामुदायिक सेवाप्रति शुद्ध नियत देखाउनुभयो भने एनआरएनएभित्र सबैका लागि मञ्च उपलब्ध छ।” राशी सिंह ठकुरीको यो यात्राले अष्ट्रेलियामा नेपाली पहिचानलाई स्थापित गर्न र समुदायको हकहितका लागि काम गर्न सकिने उदाहरण प्रस्तुत गर्दछ।
एनआरएनए अष्ट्रेलियामा दोस्रो पुस्ता पनि आउनुपर्छ
“एनआरएनएजस्तो संस्थामा समाजसेवाका लागि लाग्ने त उमेरले परिपक्व व्यक्तिहरू मात्र हुनुपर्छ भन्ने लाग्थ्यो,” राशीले हाँस्दै भनिन्, “तर त्यो सोच गलत रहेछ। हामीजस्ता दोस्रो पुस्ताका युवायुवतीले पनि यो अभियानमा सक्रिय भूमिका खेल्न सक्ने रहेछ भन्ने महसुस गरेपछि म पनि अघि बढेँ।”अष्ट्रेलियामै हुर्किएकी राशीका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत समाज सेवाको यात्राको सुरुआत सन् २०१९ बाट भयो। “यहाँ जन्मेका र हुर्केका नयाँ पुस्ताले पनि समाजप्रतिको उत्तरदायित्व बुझेको सन्देश जाओस् भन्ने उद्देश्यले म यो अभियानमा होमिएको हुँ,” उनी भन्छिन्।
नाोट : यो सामग्री राशी सिंह ठकुरीसँगको कुराकानीको आधारमा तयार पारिएको हो।