सिड्नी –अष्ट्रेलियन सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूका लागि लागू गर्न लागिएको सामाजिक सञ्जाल प्रतिबन्धमा भिडियो सेयरिङ प्लेटफर्म युट्युब पनि समावेश हुने पुष्टि गरेको छ।
गुगल स्वामित्वमा रहेको युट्युबले केही दिनयता सरकारलाई आफूलाई उक्त प्रतिबन्धबाट बाहिर राख्न अनुरोध गरिरहेको थियो। यद्यपि, सरकारको निर्णयअनुसार अब डिसेम्बर २०२५ बाट लागु हुने प्रतिबन्धमा युट्युब पनि पर्न गएको छ।
गत महिनामा eSafety Commissioner जुली इनम्यान ग्रान्टले युट्युबको प्रस्तावित छूट हटाउन सरकारलाई सिफारिस गरेकी थिइन्। उनले युट्युबको “प्रलोभनपूर्ण डिजाइन” र एल्गोरिदमिक सिफारिसहरूका कारण बालबालिका लामो समयसम्म स्क्रोल गर्न बाध्य हुने उल्लेख गरेकी थिइन्।
युट्युबले भने आफू “सामाजिक सञ्जाल सेवा होइन” भन्दै बालबालिकाका लागि शैक्षिक र रचनात्मक सामग्री उपलब्ध गराउने माध्यम भएको दाबी गर्दै आएको छ।
तर सरकारको पछिल्लो निर्णयपछि यो दाबी अस्वीकार गरिएको छ।
विशेषज्ञहरूसँग गरिएको एक सर्वेक्षणमा ५ मध्ये ४ जनाले युट्युबलाई प्रतिबन्धमा समावेश गर्नु उपयुक्त निर्णय होइन भनेका छन्। यद्यपि, सबैले बालबालिकाको डिजिटल सुरक्षासम्बन्धी चिन्ता भने साझा गरेका छन्।
सरकारले डिसेम्बरदेखि सामाजिक सञ्जाल प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको छ, जसले फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूलाई समेट्नेछ। अब युट्युब पनि यसै सूचीमा परेको छ।