Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
भिक्टोरियाकी प्रिमियरसंग नेपाली बौद्ध समुदायको गुम्बा र संस्कृति केन्द्र निर्माणको प्रस्ताव
नेपालआईज
१८ साउन २०८२ १०:२३
मेलबर्न – भिक्टोरियाका प्रिमियर जेसिन्टा एलनले नेपालीसहित विभिन्न देशका बौद्ध धर्मावलम्बीसँगको प्रत्यक्ष छलफलमा समुदायले भोगिरहेको समस्या तथा आवश्यकताहरू लिएर आउन आग्रह गरेकी छिन्। उनले प्रतिवद्धतासहित भनिन्, “तपाईंहरूको समुदायमा कुनै समस्या छ भने हामीसँग आउनुहोस्, समाधानको पहल गर्नेछौं।”
भिक्टोरियाको संसद भवनमा आयोजित विशेष राउन्ड टेबल छलफलमा नेपाली बौद्ध समुदायका प्रतिनिधिहरूले पनि सक्रिय सहभागिता जनाएका थिए। उक्त छलफलमा शेर्पा एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष डेन्डी शेर्पा, तामाङ सोसाइटी अफ भिक्टोरियाबाट बम योञ्जन र धर्मगुरु मदनले सहभागी जनाएका थिए।
शेर्पा र तामाङ समुदायका तर्फबाट आफूहरूको धर्म, संस्कृति र पहिचान जोगाउनका लागि ‘शेर्पा गोम्पा (बौद्ध गुम्बा)’ तथा ‘संस्कृतिक केन्द्र’ स्थापना गर्ने योजना प्रस्तुत गरिएको थियो। प्रतिनिधिहरूले यस पहलमार्फत भावी पुस्तामा बौद्ध धर्मको अभ्यास, परम्परा र सामुदायिक एकता प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी संघसस्थाका प्रतिनिधिहरुले प्रिमियर र मंत्री इन्ग्रिड स्टिटलाई आफ्ना विचार राख्न समय दिएर सुनेकोमा आभार व्यक्त गरेका थिए । यस्तो समावेशी संवादले सबै समुदायलाई सुन्ने र सहयोग गर्ने वातावरण सिर्जना गर्छ।” कार्यक्रममा सहभागी शेर्पा एसोसिएन भिक्टोरियाका उपाध्यक्ष डेन्डी शेर्पाले भने ।
कार्यक्रममा भिक्टोरियाका नेपाली बुद्धिष्ट संस्थाहरूसँगै श्रीलङ्का, थाइल्याण्ड, भूटान, कम्बोडिया, भियतनाम लगायत देशका बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो। छलफलमा आ–आफ्ना संस्कृति, आवश्यकता र अनुभव साटासाट गरिएको थियो।