मेलबर्न । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा शान्ति स्थापना गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई स्वागत गरेका छन्।
लगभग दुई वर्ष लामो द्वन्द्व र ठूलो मानवीय क्षतिपछि आएको यस योजनाले युद्धविराम, बन्धकहरूको मुक्तिसहित गाजामा मानवीय सहायता प्रवाह गर्ने अन्तर्राष्ट्रिय आह्वानलाई सम्बोधन गर्ने अष्ट्रेलियाले जनाएको छ।
प्रधानमन्त्री अल्बानिजले अन्य विश्व नेताहरूसँग पछिल्लो हप्ताभर यस विषयमा छलफल गरेको उल्लेख गर्दै, गाजाको शासनमा हमासलाई भूमिका नदिने र हमासलाई हतियार फालेर बाँकी बन्धकहरूलाई मुक्त गर्न आग्रह गर्ने बुँदालाई अष्ट्रेलियाले समर्थन गर्ने बताएका छन्।
उक्त योजनाले प्यालेस्टिनी स्वनिर्णय र राज्य स्थापनामा जोड दिँदै गाजाको नियन्त्रण फेरि प्यालेस्टिनी प्राधिकरणलाई दिने व्यवस्था गरेको छ। अल्बानिजले ट्रम्पको योजनाले गाजाको जबर्जस्ती कब्जा र प्यालेस्टिनीहरूको विस्थापन अस्वीकार गरेको बताए।
अष्ट्रेलियाले प्यालेस्टिनी, अरब र अन्य प्रमुख साझेदारहरूको कूटनीतिक संलग्नतालाई प्रशंसा गर्दै सबै पक्षलाई योजनामा गम्भीरतापूर्वक संलग्न हुन र ढिलाइ नगरी कार्यान्वयनतर्फ अघि बढ्न आग्रह गरेको छ।