होबार्ट/ अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि फुटबलको महाकुम्भ मानिने ‘चौथो एनएफसीटी अन्तरराज्यीय कप’ यस वर्ष तास्मानियाको होबार्टमा आयोजना हुने भएको छ। नेप्लिज फुलबल क्लव अफ तास्मानिया (NFCT) द्वारा आयोजित यो प्रतिष्ठित प्रतियोगिता डिसेम्बर १३, २०२५ मा होबार्टको कोर्नेलियन बे ओभल, न्युटाउनमा हुँदैछ।
अष्ट्रेलियाभरबाट १६ टोलीको सहभागिता
एनएफसीटीले अघिल्ला तीन संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ र यस वर्षको प्रतियोगितामा अष्ट्रेलियाभरका विभिन्न राज्यहरूबाट करिब १६ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ। NFCT का उपाध्यक्ष रवीन सापकोटाले बताएअनुसार यसले अष्ट्रेलियामा नेपाली फुटबलको पहुँच र लोकप्रियतालाई थप बल पुर्याउनेछ।
मुख्य प्रायोजक र सरकारी सहयोग
यस वर्षको प्रतियोगिता विशेष रूपमा ‘भिएक्सएल एजुकेशन तास्मानिया’को मुख्य प्रायोजनमा आयोजना हुँदैछ। साथै, प्रतियोगितालाई राज्य सरकारको पनि सहयोग प्राप्त भएको छ। यस परियोजनाले ‘सामाजिक समन्वय अनुदान (Social Cohesion Grant)’ प्राप्त गरेको छ।
ठूलो पुरस्कार राशिको घोषणा
प्रतियोगितामा विजेता टोली र व्यक्तिगत प्रदर्शनका लागि आकर्षक पुरस्कारहरूको घोषणा गरिएको छ, सापकोटाले जानकारी दिए।
- विजेता टोलीले: $८,००० नगद पुरस्कारसहित पदक र ट्रफी प्राप्त गर्नेछन्।
- उपविजेता टोलीले: $४,००० नगद पुरस्कारसहित पदक र ट्रफी पाउनेछन्।
व्यक्तिगत पुरस्कारहरू:
उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफीद्वारा सम्मान गरिनेछ:
- उत्कृष्ट खेलाडी: $३०० + ट्रफी
- सबैभन्दा धेरै गोल गर्ने खेलाडी: $२०० + ट्रफी
- उत्कृष्ट गोलरक्षक: $२०० + ट्रफी
- उत्कृष्ट मिडफिल्डर: $२०० + ट्रफी
- उत्कृष्ट डिफेन्डर: $२०० + ट्रफी
- फाइनल म्यान अफ द म्याच: $१०० + ट्रफी
यसका साथै, खेलकुदको भावना कायम राख्ने टोलीलाई ‘फेयर प्ले टोली ट्रफी’ पनि प्रदान गरिनेछ।
होबार्टमा पहिलो पटक अन्तरराज्यीय स्तरको फुटबल प्रतियोगिता आयोजना हुनुले अष्ट्रेलियामा रहेका नेपाली फुटबलप्रेमी र समुदायका सदस्यहरूलाई सुन्दर तास्मानिया राज्यको भ्रमण गर्ने र यहाँको समुदायसँग घुलमिल हुने अवसर पनि प्रदान गरेको छ।