भिक्टोरिया/ मेलबर्नस्थित एक ठूला निर्माण कम्पनीबाट करोडौँ डलर असुल्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जना पुरुषलाई पक्राउ गरी अभियोग लगाएको छ।
भिक्टोरिया प्रहरीले जनाएको अनुसार ती व्यक्तिहरूले आफूहरू कम्पनी र ट्रेड यूनियन अधिकारीहरूबीचका ‘मध्यस्थ’ भएको झूटो दाबी गर्दै कम्पनीका साइटहरूमा काम अवरोध हुन नदिन भूमिका खेलेको भन्दै रकम मागेका थिए।
अनुसन्धानकर्ताहरूका अनुसार ती पुरुषहरूले कम्पनीलाई ६.६ मिलियन डलरको ‘इनभ्वाइस’ पठाएका थिए, जसअन्तर्गत उनीहरूले जबर्जस्ती रकम असुल्ने प्रयास गरेका थिए।
भिक्टोरिया प्रहरीले बिहीबार मेलबर्नका तीन स्थानमा छापा मारेर ५१ वर्षीय मेलबर्न निवासी, ४५ वर्षीय साउथबैंक निवासी, र ४५ वर्षीय हिलसाइड निवासी पुरुषलाई पक्राउ गरेको हो।
ती सबैमाथि जबर्जस्ती रकम असुल्ने (extortion) अभियोग लगाइएको छ। साथै, प्रहरीले माग गरेको डेटा एक्सेस अर्डर (पासकोड नदिएको) उल्लंघन गरेको आरोप पनि उनीहरूमा लगाइएको छ।
त्यसमध्ये साउथबैंकका ४५ वर्षीय पुरुषमाथि छलपूर्वक सम्पत्ति हासिल गर्ने प्रयास (attempt to obtain property by deception) गरेको अभियोग समेत छ।
यी तीनै जना अक्टोबर २८ मा अदालतमा उपस्थित हुने छन्।
यी पक्राउहरू टास्कफोर्स हक (Taskforce Hawk) नामक विशेष प्रहरी टोलीले गरेको हो — जसको स्थापना सन् २०२४ मा निर्माण क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न गरिएको थियो।
भिक्टोरिया प्रहरीका अनुसार, टास्कफोर्स हक निर्माण क्षेत्रमा देखिएका नयाँ गम्भीर र हिंसात्मक आपराधिक गतिविधिहरूको अनुसन्धान गर्दै आएको छ। उक्त टास्कफोर्सले आउटल ‘मोटरसाइकल ग्याङ’ (Outlaw Motorcycle Gangs) सँग सम्बन्धित निर्माण क्षेत्रका व्यक्तिहरूलाई पनि लक्षित गर्छ।