अस्ट्रेलिया / क्विन्सल्याण्ड हेल्थले लोगन क्षेत्रमा पाइने “घरमै बनेका” केही खाद्य सामग्रीसँग सम्बन्धित विषाक्तता घटनापछि आपतकालीन चेतावनी जारी गरेको छ। गत हप्ताको अन्त्यमा पाँच जना, जसमा एक बालक पनि रहेका छन्, ती सामग्री सेवन गरेपछि अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य अधिकारीका अनुसार ती सबै बिरामीमा मुसा मार्ने विष ब्रोडिफाकुम (Brodifacoum) को सेवनसँग मिल्दोजुल्दो लक्षण देखिएका थिए। ब्रोडिफाकुमले भिटामिन के (Vitamin K) को कार्य रोक्छ, जसले रगत जम्न सहयोग पुर्याउँछ। यसले मानिसमा आन्तरिक रक्तस्राव र अन्य रक्तसम्बन्धी जटिलता निम्त्याउन सक्छ।
विषाक्तताको स्रोत पत्ता लगाउन स्वास्थ्य अधिकारीहरू सक्रिय रहेका थिए र शुक्रबार क्विन्सल्याण्ड हेल्थले आफ्नो अनुसन्धानको अद्यावधिक जानकारी सार्वजनिक गर्दै चेतावनी जारी गरेको हो।
स्वास्थ्य विभागका अनुसार लोगन समुदायमा “घरमै बनेका दुई बिना लेबलका उत्पादनहरू” वितरणमा हुन सक्ने अनुमान गरिएको छ —
मुख्य स्वास्थ्य अधिकारी डा. क्याथरिन म्याकडुगलले समुदायलाई सतर्क रहन आग्रह गर्दै भनिन्,
“गत हप्ताका पाँच घटनापछि अन्य नयाँ ब्रोडिफाकुम विषाक्तता रिपोर्ट भएका छैनन्। यी उत्पादनहरू घरमै बनाइएका हुन् र व्यापक रूपमा वितरण भएको देखिँदैन। सम्भवतः ती केवल लोगन क्षेत्रमा सीमित छन्।”
उनले थपिन्,
“हामीलाई व्यापक समुदायमा जोखिम देखिँदैन, तर लोगन क्षेत्रका बासिन्दाहरूले सतर्क रहनुपर्छ। अनुसन्धान अझै जारी छ र थप जानकारी समयमै सार्वजनिक गरिनेछ।”
ब्रोडिफाकुम विषाक्तताका लक्षणमा असामान्य रक्तस्राव, दाँत मसुडाबाट रगत आउनु, छालामा अज्ञात निलो दाग (bruises) देखिनु, पिसाब वा दिसामा रगत देखिनु, तथा जोर्नी सुन्निनु जस्ता समस्या पर्न सक्छन्।
यदि कसैले ती पहिचान भएका घरमै बनेका उत्पादन सेवन गरेको शंका गर्छन् वा रक्तस्रावका असामान्य लक्षण देखिन्छ भने नजिकको GP, स्वास्थ्य केन्द्र वा Urgent Care Clinic मा गएर परीक्षण गराउन र 13 HEALTH नम्बरमा सम्पर्क गर्न सुझाव दिइएको छ।
स्वास्थ्य विभागका अनुसार यी उत्पादनहरू २०२५ को मध्य सेप्टेम्बरदेखि लोगन क्षेत्रमा बेचिएका वा उपहारका रूपमा दिइएका हुन सक्छन्।
“यदि कसैको घरमा यी उत्पादनहरू छन् भने, तुरुन्तै फ्याँक्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
अस्पताल भर्ना भएका पाँच मध्ये तीन जनाले यी घरमै बनेका उत्पादन सेवन गरेको पुष्टि गरिएको छ।
नेपाली समुदायमा पनि यस विषयमा सतर्कता
हाम्रो नेपाली समुदायमा पनि कतिपय व्यक्तिहरू घरमै खानपिनका परिकार तयार गरी केटेरिङ वा सानो स्तरको व्यवसायका रूपमा बेच्ने गर्दै आएका छन्। यस्तो कार्य गर्दा सम्बन्धित काउन्सिलको अनुमति (Council Approval) लिनु अनिवार्य छ।
घरमा बनेको खानेकुरा सार्वजनिक रूपमा बिक्री गर्दा स्वास्थ्य मापदण्ड, सरसफाइ र सुरक्षित तयारी प्रक्रिया पूरा नगरेमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्छ।
त्यसैले, यदि तपाईंहरूले समुदायभित्र घरमै पकाएर व्यवसायिक रूपमा खाना बिक्री गर्ने योजना गर्नुभएको छ भने —
स्थानीय काउन्सिलसँग Food Business Licence वा आवश्यक स्वीकृति लिनुहोस्,
खाना तयार पार्दा स्वच्छता र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुहोस्,
उत्पादनमा प्रयोग भएका सामग्री, म्याद, र तयारी स्थानको सफाइमा विशेष ध्यान दिनुहोस्।