मेलबर्नको सडक दुर्घटनामा भाग्यले बाँचेकी नेपाली आमाको उपचार खर्च जुटाउँदै !

मेलबर्नको सडक दुर्घटनामा भाग्यले बाँचेकी नेपाली आमाको उपचार खर्च जुटाउँदै !
नेपालआईज
३० कार्तिक २०८२ १०:२९

मेलबर्न/ भिक्टोरियाको पश्चिमी क्षेत्र स्टोनली नजिकै भएको कहालि लाग्दो सवारी दुर्घटनामा चितवन घर भई हाल भिक्टोरियाको जिलोङमा बस्दै आएका एकै परिवारका तीन जना नेपालीको मृत्यु भएपछि नेपाली समुदाय गहिरो शोकमा डुबेको छ। दुर्घटनाबाट गम्भीर घाइते भएकी परिवारकी आमाको दीर्घकालीन उपचार खर्च जुटाउन उनका आफन्तहरूले आर्थिक सहयोगका लागि याचना गरिरहेका छन्।

परिवारको तर्फबाट श्रीजना शर्माले सहयोगको अपिल गर्दै लेखेकी छन्,
“यो हाम्रो परिवारका लागि अकल्पनीय पीडा हो। मेरा प्रिय दाजु कृष्ण हरि भण्डारी (४१), भाउजु सपना न्यौपाने भण्डारी (३१) र तीन वर्षका भतिज रुबेनको घटनास्थलमै मृत्यु भयो। परिवारकी सासु गम्भीर घाइते भई एयरलिफ्ट गरेर अल्फ्रेड अस्पताल लगिएको थियो। अहिले उनी खतरा मुक्त हुनु भए पनि लामो उपचारको बाटो अघि रहेको छ।”

दुर्घटनामा ज्यान गुमाएका दम्पतीकी करिब ६ वर्षीया छोरी घटनाको समयमा सँगै नभएकीले ज्यान जोगिन सफल भइन्। अहिले उनलाई स्थिर वातावरण, मनोवैज्ञानिक हेरचाह र भविष्यका आवश्यकताहरूमा सहयोग पुर्‍याउन परिवार र समुदाय संयुक्त रूपमा पहल गरिरहेका छन्।
आमाको उपचारका लागि ९८,८३० डलर, अर्थात् करिब करोड रुपैयाँ खर्च लाग्ने भएको परिवारले जनाएको छ।

श्रीजना भन्छिन्,
“हामीले भतिजीलाई माया, सुरक्षा र स्थिरताको वातावरण दिन भरपूर प्रयास गरिरहेका छौँ। तर गम्भीर घाइते आमाको उपचार खर्च, बच्चीको दीर्घकालीन हेरचाह र परिवार पुनः उभ्याउन आर्थिक सहयोग अपरिहार्य भएको छ। सानो वा ठूलो जे सहयोग हुन्छ, त्यो नै हामीका लागि ठूलो आशा हुनेछ।”

दुर्घटनाको विवरण
गत मंगलबार बिहान करिब ९:३० बजे युरामबिन–स्ट्रिथम रोड र माउन्ट विलियम रोडको चोकमा परिवार सवार कार र ट्रक एकआपसमा ठोक्किँदा कारमा सवार चार जनामध्ये आमा मात्र जीवित बच्न सफल भएकी थिइन्। दुर्घटनाको झट्का यति शक्तिशाली थियो कि कार चकनाचुर भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले जनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको