Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
डिजिटल युगमा सामाजिक सद्भावका चुनौती र अवसरबारे लनचेस्टनमा वृहत् बहस हुने
नेपालआईज
१६ फागुन २०८२ २३:४५
तास्मानिया / तीव्र गतिमा विकास भइरहेको डिजिटल प्रविधिले हाम्रो सामाजिक संरचना, विशेष गरी आप्रवासी र अल्पसङ्ख्यक समुदायको आपसी सम्बन्धलाई कसरी प्रभावित पारिरहेको छ भन्ने विषयमा गहन मन्थन गर्न तास्मानियाका विशिष्ट व्यक्तित्वहरू एकै थलोमा भेला हुने भएका छन्। आगामी बुधबार लनचेस्टनमा आयोजना हुने “डिजिटल युगमा सामाजिक सद्भाव” विषयक प्यानल छलफलमा विज्ञहरूले वर्तमान समयका चुनौती र समाधानका उपायबारे चर्चा गर्नेछन्।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा तास्मानीयाका पूर्व प्रिमियर माननीय पिटर गुट्वेन रहनुहुनेछ। उहाँले कार्यक्रममा मुख्य मन्तव्य राख्नुका साथै प्यानल छलफलमा समेत सहभागी हुनुहुनेछ। सार्वजनिक जीवनबाट अवकाश लिएपछि पनि आप्रवासी र शरणार्थीहरूको हकहितमा आवाज उठाउँदै आउनुभएका गुट्वेनले सन् २०२४ मा राज्यभर ३५० किलोमिटर पैदल यात्रा गरी सामाजिक एकताको सन्देश फैलाउनुभएको थियो।
नेपाली सोसाइटी अफ नर्दर्न तास्मानीया द्वारा आयोजित यो कार्यक्रम ‘स्क्यानलन फाउन्डेसन’को आर्थिक सहयोगमा सञ्चालित “थ्राइभिङ कम्युनिटीज” परियोजनाको एक हिस्सा हो। कार्यक्रमको सहजीकरण मल्टिकल्चरल काउन्सिल अफ तास्मानीयाकी अध्यक्ष आइमेन जाफ्रीले गर्नुहुनेछ।
प्यानलमा सहभागी हुने अन्य विज्ञहरूमा युनिभर्सिटी अफ तास्मानीयाका समाजशास्त्री प्रोफेसर क्यान-सेङ ओई, सामाजिक अभियन्ता एडम मोस्तोग्ल, अपाङ्गता अधिकारकर्मी जेन वार्डला र सन् २०२३ का ‘तास्मानीयन अस्ट्रेलियन अफ द इयर’ जोन कामारा रहनुभएको छ। उहाँहरूले आ-आफ्नो क्षेत्रको अनुभवका आधारमा समावेशी समाज निर्माणका लागि डिजिटल माध्यमको भूमिकाबारे प्रकाश पार्नुहुनेछ।
छलफलको अतिरिक्त, कार्यक्रममा परियोजना प्रमुख तथा अनुसन्धानकर्ता डा. सन्तोष अधिकारीले तास्मानीयाका विभिन्न समुदायमा गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। उक्त प्रतिवेदनले डिजिटल साक्षरता र सामाजिक सामीप्यताका सम्बन्धमा रहेका यथार्थहरूलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम आगामी बुधबार, ४ मार्च २०२६ का दिन दिउँसो ३:३० देखि ५:३० सम्म लन्सेस्टनको इन्भरेस्कस्थित ‘द वर्कसप’ मा आयोजना हुनेछ। आयोजकले यो कार्यक्रम सर्वसाधारणका लागि खुला रहेको र इच्छुक सहभागीहरूले समयमै आफ्नो स्थान सुरक्षित गर्न यो लिङ्कमा गएर नाम दर्ता गर्नुपर्ने छ ।