मेलबर्न । अष्ट्रेलियामा अवैध रूपमा बसोबास तथा काम गरिरहेका विदेशी ट्रक चालकहरू विरुद्ध देशव्यापी कारबाही तीव्र पारिएको छ। Australian Border Force र National Heavy Vehicle Regulator ले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा विभिन्न राज्यमा ठूलो संख्यामा अनियमितता फेला परेको हो।
न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड र साउथ अष्ट्रेलियामा गरिएको निगरानी अभियानमा भिसा उल्लङ्घन तथा सडक सुरक्षामा विशेष ध्यान दिइएको थियो। विशेषगरी भारतबाट आएका चालकहरूलाई श्रम अभावको नाममा आक्रामक रूपमा भित्र्याइएको भन्दै चिन्ता बढ्दै गएको अवस्थामा यो कारबाही गरिएको हो।
भिक्टोरियामा १२ वर्षदेखि अवैध रूपमा बस्दै र काम गर्दै आएका एक चालक पक्राउ परेका छन्। साथै पाँचवटा व्यवसायले गैरकानुनी आप्रवासी वा गलत भिसामा कामदार राखेको भेटिएको छ।
अभियानका क्रममा २०० भन्दा बढी ट्रक जाँच गरिएको थियो। तीनवटा विद्यार्थी भिसा रद्द गरिएको छ भने थप तीन जनालाई रद्दको सूचना दिइएको छ। नौ जना चालकलाई भिसा सम्बन्धी नियमबारे सचेत गराइएको छ भने पाँच व्यवसायमाथि थप अनुसन्धान भइरहेको छ।
एबीएफका कमाण्डर John Taylor ले यस्ता अनियमितता रोक्न आकस्मिक सडक जाँच निरन्तर हुने चेतावनी दिएका छन्। उनले भिसा नियम उल्लङ्घन गर्ने र अवैध कामदार प्रयोग गर्नेहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन्।
यसैगरी नियामक निकायका प्रमुख Paul Salvati ले विशेषगरी इस्टरजस्तो व्यस्त समयमा सडक सुरक्षालाई प्राथमिकता दिइएको बताए। नागरिकता तथा बहुसांस्कृतिक मामिला सहायक मन्त्री Julian Hill ले नियम पालना गराउने कदमले कानुनी रूपमा काम गर्ने श्रमिक र व्यवसायलाई संरक्षण गर्ने बताएका छन्।
उद्योगभित्रबाट लामो समयदेखि विदेशी चालकका कारण सडक अव्यवस्था, नक्कली ठेक्का प्रथा र सुरक्षामा खतरा बढेको गुनासो आएपछि यो अभियान सुरु गरिएको हो। आगामी महिनाहरूमा थप निगरानी, चेकपोइन्ट र मोबाइल गस्ती बढाइने जनाइएको छ।