मेलबर्न । नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रालेखा यादव लाई फिर्ता बोलाउने निर्णय गरेसँगै अष्ट्रेलियामा कार्यरत तीन राज्यका नेपाली अवैतनिक वाणिज्यदूतहरूलाई समेत पदमुक्त गरेको छ। यससँगै अष्ट्रेलियामा नेपालको औपचारिक कूटनीतिक उपस्थितिमा अस्थायी शून्यता देखिएको छ।
पदमुक्त गरिएका वाणिज्यदूतहरूमा निराजन गौली (भिक्टोरिया), सञ्जीव शर्मा (न्यु साउथ वेल्स) तथा दिपक धमला (साउथ अष्ट्रेलिया) रहेका छन्।
राजदूत र वाणिज्यदूतहरू पदमुक्त भएसँगै अष्ट्रेलियामा नेपाल सरकारको प्रत्यक्ष प्रतिनिधित्व कमजोर बनेको विश्लेषण गरिएको छ। यद्यपि Embassy of Nepal, Canberra मार्फत दूतावासका नियमित प्रशासनिक तथा कन्सुलर सेवाहरू भने जारी रहने अपेक्षा गरिएको छ।
तर संघीय सरकार, विभिन्न राज्य सरकार तथा उच्चस्तरीय औपचारिक कार्यक्रममा नेपाल सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिको अभाव देखिन सक्ने सरोकारवालाहरूको भनाइ छ। यसले द्विपक्षीय भेटघाट, समुदायस्तरीय कार्यक्रम तथा सरकारी समन्वयमा असर पर्न सक्ने अनुमान गरिएको छ।
अष्ट्रेलियामा ठूलो संख्यामा नेपाली समुदाय बसोबास गर्दै आएका कारण नयाँ राजदूत तथा प्रतिनिधिहरूको शीघ्र नियुक्तिको आवश्यकता महसुस गरिएको छ। समुदायका अगुवाहरूले सेवा निरन्तरता, कूटनीतिक सक्रियता र सरकारी समन्वयलाई प्रभावकारी बनाउन नेपाल सरकारले छिट्टै नयाँ नेतृत्व पठाउनुपर्ने बताएका छन्।