मेलबर्न, अस्ट्रेलिया।अस्ट्रेलियाको मेलबर्नस्थित उत्तरी क्षेत्र कल्कल्लो मा स्थानीय नेपाली समुदायका लागि मिडिया साक्षरता सम्बन्धी एक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल आइज मल्टिकल्चरल मिडिया अस्ट्रेलिया र नेप्लिज कम्युनिटी अफ कल्कल्लोको संयुक्त आयोजनामा गत शनिबार कल्कल्लोस्थित कम्युनिटी हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
समुदायमा बढ्दो डि जिटल प्रविधिको प्रयोग र यसका चुनौतीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रममा स्थानीय नेपाली समुदायका ४० जनाभन्दा बढी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
गलत सूचनाको जोखिम र मानसिक स्वास्थ्यमा जोड
कार्यक्रमका मुख्य प्रस्तोता गणेश आचार्यले आधुनिक समाजमा गलत र भ्रामक सूचनाले समाजमा पार्ने नकारात्मक असरबारे प्रस्ट पार्नुभएको थियो। उहाँले सामाजिक सञ्जालमा फैलिने भ्रामक समाचारहरूलाई कसरी पहिचान गर्ने, डिजिटल माध्यमबाट सुरक्षित कसरी रहने र वर्तमान समयमा समुदायका लागि मिडिया साक्षरता किन अपरिहार्य छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो।
यसैगरी, कार्यक्रममा मानसिक स्वास्थ्यको पाटोलाई जोड्दै मेन्टल हेल्थ रजिस्टर्ड नर्स सपना पाण्डेले सामाजिक सञ्जालको अत्यधिक वा गलत प्रयोगले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने तथ्यबारे सहभागीहरूलाई सचेत गराउनुभएको थियो। उहाँले डिजिटल माध्यमको सन्तुलित प्रयोग नै मानसिक रूपमा स्वस्थ रहने उपाय भएको उल्लेख गर्नुभयो।
आफ्नै भाषामा सचेतना र देशव्यापी विस्तारको योजना
नेप्लिज कम्युनिटी अफ कल्कल्लोका अध्यक्ष सञ्जय गौतमले डायस्पोरामा रहेका नेपालीहरूलाई आफ्नै मातृभाषामा मिडिया साक्षरता बुझाउनु आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले रैथाने भाषा र संस्कृतिसँगै आधुनिक सञ्चार क्षेत्रबारे बुझ्न सजिलो हुने उहाँको भनाइ थियो।
कार्यक्रमका सहजकर्ता छत्र शंकरले कल्कल्लोबाट सुरु भएको यो अभियानलाई आगामी दिनमा अस्ट्रेलियाभर रहेका अन्य नेपाली समुदायहरूमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै गलत सूचनाको बाढी आइरहेका बेला प्रवासमा आयोजना गरिएको यस किसिमको कार्यक्रमलाई सहभागीहरूले निकै उपयोगी र सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्।