सिड्नी । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली आदिवासी जनजाति समुदायका अगुवाहरूले आफ्नै मौलिक मातृभाषा, संस्कृति र पहिचानको संरक्षणका लागि ऐतिहासिक पहल सुरु गरेका छन्। उनीहरूले खस-नेपाली भाषा अष्ट्रेलियामा सम्पर्क भाषा (Community Language) भए पनि यो सम्पूर्ण आदिवासी जनजातिको मातृभाषा नभएकाले आ-आफ्नो समुदायको मौलिक भाषालाई सरकारी अभिलेखमा समावेश गराउन विशेष माग राखेका हुन्।
अष्ट्रेलिया सरकारलाई ज्ञापनपत्र: के हो मुख्य माग?
तामाङ सोसाइटी अफ न्यू साउथ वेल्स (Tamang Society of NSW) को नेतृत्वमा अष्ट्रेलियाका संघीय शिक्षा मन्त्री जेसन क्लारे (Jason Clare MP) लाई भेटेर एक ज्ञापनपत्र बुझाइएको छ। सिड्नीको बैंकस्टाउनस्थित मन्त्रीको कार्यालयमा बुझाइएको सो ज्ञापनपत्रमा अष्ट्रेलियाको सरकारी तथा प्रशासनिक सेवा र जनगणनामा नागरिकहरूले आफ्नो मौलिक मातृभाषालाई आधिकारिक रूपमा रोज्न पाउने (Preferred Language) व्यवस्था मिलाउन माग गरिएको छ।
यस कदमले डायस्पोरामा रहेका नेपाली आदिवासी जनजातिहरूको भाषा, संस्कृति र पहिचानलाई कानुनी र प्रशासनिक रूपमै मान्यता दिलाउन र संरक्षण गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
मातृभाषा संरक्षणमा जोड
कार्यक्रमका क्रममा तामाङ सोसाइटी अफ NSW का अध्यक्ष अविरल तामाङले प्रवासमा रहेका भावी पुस्तालाई आफ्नै मातृभाषा सिकाउनु पर्ने आवश्यकता औँल्याए। उनले भने:
“नेपाली भाषा हाम्रा लागि सम्पर्कको माध्यम भए पनि यो हामी सम्पूर्ण आदिवासी जनजातिको मातृभाषा होइन। हाम्रा सन्तानहरूलाई तामाङ, लिम्बू, राई, गुरुङ, मगर जस्ता आफ्नै मौलिक भाषासँग जोड्न नसके हाम्रो अस्तित्व र पहिचान गुम्ने खतरा रहन्छ। त्यसैले अष्ट्रेलिया सरकारले हाम्रा मातृभाषालाई मान्यता दिनु आवश्यक छ।”
त्यसैगरी, नेपाली इन्डिजिनियस नेश्नालिटीज फोरम अस्ट्रेलिया (NINFA) का सल्लाहकार चित्र तुम्बाहाङ्फेले प्रवासमा रहेर पनि भाषिक अधिकार र पहिचानका लागि संगठित हुनुपर्ने धारणा राखे। उनले राष्ट्रिय भाषाको सम्मान गर्दै आदिवासी जनजातिहरूको अस्तित्व उनीहरूकै मातृभाषासँग गाँसिएको स्पष्ट पारे।
मन्त्री क्लारेको प्रतिक्रिया
ज्ञापनपत्र बुझ्दै शिक्षा मन्त्री जेसन क्लारेले नेपाली आदिवासी जनजाति समुदायको यो मागप्रति आफू सकारात्मक रहेको बताए। उहाँले समुदायको यस महत्त्वपूर्ण विषयमा सम्बन्धित निकायहरूसँग आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
उक्त प्रतिनिधिमण्डलमा तामाङ सोसाइटीका अध्यक्ष अविरल तामाङ, मुख्य संस्थापक गणेश तामाङ, NINFA का सल्लाहकार चित्र तुम्बाहाङ्फे लगायत विभिन्न नेपाली जनजातीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।