क्यानबेरा / अस्ट्रेलियाका सहायक विदेश मन्त्री म्याट थिसलथ्वेटले नेपालमा हालै गएको भीषण बाढी र पहिरोको मुख्य कारण जलवायु परिवर्तनको असर हुन सक्ने सङ्केत गर्दै यस संकटमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताएका छन्। अस्ट्रेलियाली टेलिभिजन ‘न्यूज२४’ (News24) को सन्डे एजेन्डा कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले जलवायु परिवर्तन अहिले भविष्यको मुद्दा मात्र नरहेर वर्तमानको गम्भीर संकट बनेको उल्लेख गरे।
नेपालमा गएको बाढी र त्यसपछिको उद्धारबारे बोल्दै उनले अस्ट्रेलियाली टोली परिचालन गरिएको जानकारी दिए।
नेपालको उद्धार प्रयासमा अस्ट्रेलियाली टोली र बेपत्ताको खोजी
३६ जना अस्ट्रेलियाली अझै सम्पर्कविहीन: बाढीका कारण ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेका छन्। हालसम्म कुनै मृत्युको औपचारिक पुष्टि नभएको र खोजी कार्य जारी रहेको बताइएको छ।
त्रिशूलीमा सफलता: यसै साता ७ जना अस्ट्रेलियालीको उद्धार गरिएको छ भने त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार गरिएको छ।
विशेषज्ञ र ड्रोन टोली परिचालन: अस्ट्रेलियाले उद्धार कार्यका लागि ५४ जना विशेषज्ञ परिचालन गरेको छ। जसअन्तर्गत न्यू साउथ वेल्स र क्वीन्सल्याण्डका १५ जना विशेषज्ञ ड्रोन अपरेटरहरू काठमाडौँ पुगेर नेपाली सेना र उद्धारकर्मीहरूसँग मिलेर खोजतलास तीव्र पारेका छन्।
जलवायु परिवर्तन: नेपाल र प्रशान्त क्षेत्रको साझा चुनौती
नेपालमा गएको अभूतपूर्व बाढी र प्रशान्त महासागरीय टापुहरूमा देखियाको सङ्कटलाई जोड्दै सहायक मन्त्री थिसलथ्वेटले हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताए।
“हामीले भेट्ने हरेक प्रशान्त क्षेत्रका नेताहरूको पहिलो चासो जलवायु परिवर्तन नै हुन्छ। उहाँहरू भन्नुहुन्छ— अरूले जलवायु परिवर्तनलाई भविष्यमा असर गर्ने विषयका रूपमा हेर्छन्, तर यसले हामीलाई अहिले नै असर गरिरहेको छ; बालीनाली नष्ट गरेको छ, इनारमा नुनिलो पानी मिसाएको छ र संरचनाहरू डुबाएको छ। हामीलाई अहिल्यै ठोस कदम चाहिएको छ।”
हिमाली देश नेपालले पनि उच्च पहाडी क्षेत्रमा अतिवृष्टि, हिमपहिरो र बाढीजस्ता उस्तै गम्भीर जलवायुजन्य प्रकोपको सामना गरिरहेको छ। अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनविरुद्ध कडा कदम चाल्न र नेपालजस्ता जोखिममा रहेका राष्ट्रहरूलाई प्राविधिक तथा मानवीय सहयोग पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ