भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा अवार्डको फाइनलमा नेपाली विद्यार्थी कुशल पौडेल

भिक्टोरियन अन्तर्राष्ट्रिय शिक्षा अवार्डको फाइनलमा नेपाली विद्यार्थी कुशल पौडेल
नेपालआईज
२३ भदौ २०८३ १०:५६

मेलबर्न / अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित ‘भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्ड्स  २०२६’ अन्तर्गत ‘इमर्जिङ लिडर–इन्टरनेसनल एलुम्नाई’ विधाको शीर्ष तीनमा नेपाली विद्यार्थी कुशल पौडेल छनोट भएका छन्।

अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी बाट नर्सिङ विषयमा स्नातक तह पूरा गरेका पौडेलले अन्तर्राष्ट्रिय पूर्वविद्यार्थी नेतृत्व विधामा स्थान बनाएका हुन्। यस विधाको अन्तिम तीनमा पौडेलसँगै आरएमआईटी युनिभर्सिटीबाट विद्यावारिधि उपाधि हासिल गरेका डा. अलिरेजा हैदारियन र साउदर्न क्रस एजुकेसन इन्स्टिच्युटबाट अर्ली चाइल्डहुड एजुकेसनमा ग्राजुएट डिप्लोमा गरेका शुलाङ रोय प्रतिस्पर्धामा छन्।

भिक्टोरिया सरकारको पहल ‘स्टडी मेलबर्न’ ले उच्च शिक्षा, अनुसन्धान, व्यावसायिक शिक्षा तथा तालिम, क्षेत्रीय शिक्षा र उद्यमशीलता लगायतका विधामा सन् २०२६ का फाइनलिस्टहरूको नामावली सार्वजनिक गरेको हो। उद्योग, सरकार तथा विभिन्न सामुदायिक क्षेत्रका विज्ञहरू सम्मिलित निर्णायक मण्डलले विद्यार्थीहरूको प्राज्ञिक उत्कृष्टता, नेतृत्व क्षमता, नवीन सोच र भिक्टोरियाली समुदायमा पुर्‍याएको विशिष्ट योगदानका आधारमा अन्तिम चरणका प्रतिस्पर्धी छनोट गरेको जनाएको छ।

अस्ट्रेलियाको स्थानीय स्वास्थ्य तथा बहुसांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा पौडेलले हासिल गरेको यो उपलब्धिले यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा पूर्वविद्यार्थी समुदायको बढ्दो प्रभाव र नेतृत्वदायी भूमिकालाई उजागर गरेको छ।

अवार्डका अन्तिम विजेताहरूको घोषणा सेप्टेम्बरको अन्तिम साता मेलबर्नमा आयोजना हुने विशेष समारोहमा गरिने र त्यसको प्रत्यक्ष विवरण ‘स्टडी मेलबर्न’ का आधिकारिक माध्यमबाट सार्वजनिक गरिने आयोजकले जनाएको छ।

पौडेलले नेपाल आइजसँग भने, “मेरो नाम पनि अवार्डका उत्कृष्ट तीन फाइनलिस्टमा पर्दा निकै खुसी लागेको छ। यसले हाम्रो समुदायको सेवामा अझ सक्रिय भएर लाग्ने ऊर्जा प्रदान गरेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको