भाग १ - अभिभावकत्व: जीवनका चरण, फरक चुनौतीहरू

अभिभावकत्व कहिलेदेखि सुरु हुन्छ?

अभिभावकत्व कहिलेदेखि सुरु हुन्छ?
नेपालआईज
२६ भदौ २०८३ १२:४४

 

डा. नबराज मुडवरी

राज र अदिति विवाह बन्धनमा बाँधिएका पनि केही वर्ष भइसकेको थियो। जीवन विस्तारै स्थिर बन्दै थियो। भविष्यका योजना बनिरहेका थिए। एक साँझ सामान्य कुराकानीकै क्रममा राजले सोध्यो,

अब हामी बच्चा पाउने योजना गर्ने कि? के भन्छौ तिमी? विवाह गरेको पनि यत्तिका वर्ष भइसक्यो।

त्यो एउटा साधारण प्रश्न थियो। तर त्यसपछि उनीहरूको जीवनमा असाधारण परिवर्तन सुरु भयो।

खर्चका प्राथमिकताहरू फेरिन थाले। स्वास्थ्य परीक्षण गराइयो। भविष्यका योजनाहरू अझ स्पष्ट बन्दै गए। कहिलेकाहीँ उनीहरू रमाइला कल्पनामा हराउँथे, बच्चाको नाम के राख्ने, को जस्तै देखिएला, कस्तो स्वभावको होला भनेर। सँगसँगै गम्भीर प्रश्नहरू पनि मनमा आउन थाले। बच्चालाई कस्तो वातावरणमा हुर्काउने? कस्ता मूल्य सिकाउने? कस्तो शिक्षा दिने?

रोचक कुरा के थियो भने, बच्चा अझ जन्मिएको पनि थिएन।

तर भविष्यमा आउने त्यो बच्चाले उनीहरूको सोच, निर्णय र जीवनशैलीलाई प्रभावित गर्न थालिसकेको थियो।

यहीँ एउटा रोचक प्रश्न उठ्छ:

अभिभावक पहिला जन्मिन्छन् कि बच्चा?

धेरैलाई यो प्रश्न अनौठो लाग्न सक्छ। हाम्रो सहज उत्तर हुन्छ, बच्चा जन्मिएपछि मात्र अभिभावक जन्मिन्छन्। आखिर बच्चै नभई कसरी कोही अभिभावक हुन सक्छन्?

तर राज र अदितिको अनुभवले अर्को सम्भावना देखाउँछ। यदि बच्चा अझ संसारमा आएको छैन तर उसको आगमनको तयारीले नै मानिसहरूको सोच, प्राथमिकता र जीवनशैली बदल्न थालिसकेको छ भने, अभिभावकत्व पनि त्यहीँबाट सुरु भयो होइन र?

अभिभावकत्व एक विकासात्मक यात्रा

विकासात्मक मनोविज्ञानले मानिसको जीवनलाई विभिन्न चरणहरूमा विभाजन गर्छ। प्रत्येक चरणमा नयाँ जिम्मेवारी, नयाँ चुनौती नयाँ सिकाइ हुन्छ। यही कुरा अभिभावकत्वमा पनि लागू हुन्छ।

दुई वर्षको बच्चालाई चाहिने अभिभावक बीस वर्षको युवालाई चाहिने अभिभावक एउटै हुन सक्दैन। समयसँगै बच्चा बदलिन्छ अभिभावकत्वको शैली पनि बदलिनुपर्छ।

यसैले अभिभावकत्व कुनै स्थिर भूमिका होइन। यो निरन्तर परिवर्तन हुने प्रक्रिया हो। कहिले संरक्षण दिनुपर्छ, कहिले स्वतन्त्रता। कहिले निर्देशन दिनुपर्छ, कहिले सुन्नुपर्छ।

अभिभावकत्वको परिपक्वता बच्चा हुर्काउने प्रक्रियासँगै विकसित हुँदै जान्छ। तर बच्चाको आवश्यकता र पहिचान परिवर्तन भइरहँदा अभिभावकत्वको शैली परिवर्तन हुन सकेन भने, सम्बन्धमा अविश्वास, तनाव र टकराव उत्पन्न हुन सक्छ।

बच्चासँगै अभिभावक पनि जन्मिन्छन्

मनोविज्ञानमा ट्रान्जिसन टु पेरेन्टहुड थ्योरीले एउटा महत्त्वपूर्ण कुरा बताउँछ। बच्चाको जन्म केवल नयाँ जीवनको सुरुवात होइन, दम्पतीको पहिचानमा पनि गहिरो परिवर्तनको सुरुवात हो।

सन्तान जन्मिनुअघि दम्पतीको सम्बन्ध मुख्यतः पतिपत्नीको सम्बन्ध हुन्छ। बच्चापछि उनीहरू आमा बुबा पनि बन्छन्। जिम्मेवारी बढ्छ। समयको उपयोग बदलिन्छ। प्राथमिकताहरू फेरिन्छन्। व्यक्तिगत स्वतन्त्रताको केही हिस्सा परिवारको आवश्यकताले लिन्छ।

धेरै दम्पतीले बच्चाका लागि आर्थिक तयारी गर्छन्। बचत गर्छन्। कोठा तयार पार्छन्। कपडा आवश्यक सामग्री किन्छन्। तर वास्तविक तयारी त्यतिमै सीमित हुँदैन।

के आफ्ना केही चाहना पछाडि सार्न तयार छु?

के पर्याप्त समय दिन सक्छु?

के मेरो बच्चा मेरो अपेक्षाभन्दा फरक भए पनि उसलाई स्वीकार गर्न सक्छु?

यी प्रश्नहरूको सामना गर्न थाल्नु नै अभिभावकत्वको सुरुवात हो।

त्यसैले बच्चा जन्मिँदा मात्र होइन, बच्चाबारे जिम्मेवारीपूर्वक सोच्न थालेको दिनदेखि अभिभावकत्व सुरु हुन थाल्छ।

बच्चा जन्मिँदा पूरा परिवार बदलिन्छ

फ्यामिली सिस्टम्स थ्योरीका अनुसार परिवार व्यक्तिहरूको समूह मात्र होइन, एक आपसमा जोडिएको प्रणाली हो।

त्यसैले बच्चा जन्मिँदा परिवारमा केवल एउटा सदस्य मात्र थपिँदैन। परिवारको सम्पूर्ण संरचना नै बदलिन्छ।

पतिपत्नीको सम्बन्ध अब आमाबुबाको सम्बन्धमा पनि रूपान्तरित हुन्छ। जिम्मेवारीहरू पुनः वितरण हुन्छन्। समय व्यवस्थापन बदलिन्छ। नयाँ भूमिका नयाँ अपेक्षाहरू जन्मिन्छन्।

जुन दम्पती हिजोसम्म आफ्ना व्यक्तिगत लक्ष्यहरूमा केन्द्रित थिए, उनीहरू अब अर्को जीवनको विकास कल्याणबारे सोच्न थाल्छन्।

परिवारको कुनै एउटा सदस्यमा आएको परिवर्तनले सम्पूर्ण प्रणालीलाई असर गर्छ। यही कारण बच्चाको आगमनले परिवारको भावनात्मक, सामाजिक व्यवहारिक संरचनामा व्यापक परिवर्तन ल्याउँछ।

यसरी हेर्दा अभिभावकत्व बच्चा जन्मिएपछि सुरु हुने जिम्मेवारी मात्र होइन, परिवारको सामूहिक रूपान्तरणको प्रक्रिया पनि हो।

गर्भधारणदेखि जन्मसम्म: हामी बच्चा जन्माउँदै छौँ कि अभिभावक पनि?

गर्भधारणको अवधि प्रायः बच्चाको विकाससँग मात्र जोडेर हेरिन्छ। तर यो अभिभावकको विकासको अवधि पनि हो।

आमाले शारीरिक भावनात्मक परिवर्तन अनुभव गरिरहेकी हुन्छिन्। बुबाले पनि नयाँ जिम्मेवारी अपेक्षासँग आफूलाई अनुकूल बनाइरहेका हुन्छन्।

यस समयमा दम्पतीहरूले भविष्यबारे गम्भीर रूपमा सोच्न थाल्छन्। उनीहरू केवल बच्चाको जन्मका लागि होइन, आफ्नो नयाँ भूमिकाका लागि पनि तयार भइरहेका हुन्छन्।

अनुसन्धानले देखाउँछ कि गर्भावस्थाको समयमा अभिभावकको भावनात्मक तयारीले जन्मपछिको अभिभावकीय संलग्नता सम्बन्धको गुणस्तरमा प्रभाव पार्न सक्छ।

यही समयमा भविष्यका मूल्य, अपेक्षा, अनुशासन, शिक्षा पारिवारिक संस्कृतिबारे सोच्न थालिन्छ।

बच्चाले संसार देख्नुअघि अभिभावकहरूले आफ्नै संसारलाई पुनः मूल्याङ्कन गरिरहेका हुन्छन्।

त्यसैले गर्भावस्था केवल जैविक प्रक्रिया मात्र होइन। यो मनोवैज्ञानिक सामाजिक रूपान्तरणको समय पनि हो।

जन्मदेखि दुई वर्षसम्म: बच्चाले भाषा होइन, विश्वास सिकिरहेको हुन्छ

बच्चा जन्मिएपछि अभिभावकत्वको अर्को महत्त्वपूर्ण चरण सुरु हुन्छ।

नवजात शिशुले शब्द बुझ्दैन। तर उसले एउटा गहिरो प्रश्नको उत्तर खोजिरहेको हुन्छ:

यो संसार मेरो लागि सुरक्षित कि छैन?”

अमेरिकी विकासात्मक मनोवैज्ञानिक एरिक एरिक्सनले जीवनको पहिलो विकासात्मक चरणलाई ट्रस्ट भर्सेस मिस्ट्रस्ट भनेर वर्णन गरेका छन्। यही अवधिमा बच्चाले संसारप्रति आधारभूत विश्वास निर्माण गर्न थाल्छ।

आमाको काख, बुबाको स्पर्श, समयमै दिइने प्रतिक्रिया न्यानो सम्बन्धहरूले बच्चालाई एउटा शक्तिशाली सन्देश दिन्छन्:

तिमी सुरक्षित छौ बेबी। तिम्रो आवश्यकता हाम्रा लागि महत्त्वपूर्ण छ।

ब्रिटिश मनोवैज्ञानिक जोन बोल्बीको अट्याचमेन्ट थ्योरीले पनि प्रारम्भिक भावनात्मक सम्बन्धको महत्त्वलाई जोड दिन्छ। जीवनका पहिलो वर्षहरूमा निर्माण भएको सुरक्षित सम्बन्धले भविष्यको आत्मविश्वास, भावनात्मक स्वास्थ्य सामाजिक सम्बन्धको आधार तयार पार्छ।

यस उमेरमा बच्चालाई सबैभन्दा धेरै चाहिने कुरा महँगा खेलौना मात्र होइन, बच्चालाई भावनात्मक उपलब्धता, न्यानो सम्बन्ध, नियमित हेरचाह र प्रतिक्रिया दिने अभिभावक पनि चाहिन्छ।

आजको डिजिटल युगमा एउटा चुनौती बढिरहेको छ। बच्चा रोयो भने तुरुन्त फोन वा स्क्रिन देखाइन्छ। केही समयका लागि समस्या समाधान भएजस्तो देखिन्छ। तर विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने, बच्चाले भावनात्मक नियमन (इमोशनल रेगुलेसन) सिक्ने महत्त्वपूर्ण अवसर भने गुमाइरहेको हुन सक्छ।

आखिर साना बच्चाहरूले आफ्ना भावनाहरू कसरी व्यवस्थापन गर्न सिक्छन् त? उनीहरूले त्यो सीप एक्लै सिक्दैनन्। उनीहरूले अभिभावकसँगको दैनिक अन्तरक्रियाबाट सिक्छन्। बच्चाले कुनै आवश्यकता वा भावना व्यक्त गर्छ, अभिभावकले त्यसलाई बुझेर प्रतिक्रिया दिन्छन्, र त्यही प्रक्रियाबाट उसले संसार, सम्बन्ध र आफ्ना भावनाहरू बुझ्न सिक्छ।

बच्चाले कुनै संकेत दिन्छ, अभिभावकले प्रतिक्रिया दिन्छन्, र यही आदानप्रदानबाट उसको मस्तिष्क, भाषा तथा सामाजिक सीपहरूको विकास हुँदै जान्छ। बालविकास विशेषज्ञहरूले यसलाई “सर्भ एन्ड रिटर्न इन्टर्याक्सन” भन्छन्, जुन स्वस्थ बाल विकासको आधारभूत प्रक्रिया मानिन्छ।

त्यसैले यस उमेरमा अभिभावकको मुख्य काम सिकाउनु होइन। सम्बन्ध निर्माण गर्नु हो।

किनकि बच्चाको पहिलो भाषा शब्द होइन।

सम्बन्ध हो।

अभिभावकत्वको वास्तविक सुरुवात

हामी सामान्यतया बच्चा जन्मिएको दिनलाई अभिभावकत्वको सुरुवात मान्छौँ। तर गहिरिएर हेर्दा वास्तविकता फरक देखिन्छ।

अभिभावकत्व सुरु हुन्छ जब:

  • मानिसहरूले भविष्यको बच्चाबारे जिम्मेवारीपूर्वक सोच्न थाल्छन्।
  • आफ्ना प्राथमिकताहरू पुनः मूल्याङ्कन गर्न थाल्छन्।
  • अर्को जीवनका लागि आफूलाई तयार पार्न थाल्छन्।
  • आफ्ना चाहना जिम्मेवारीबीच सन्तुलन खोज्न थाल्छन्।

राज अदितिको कथा यही सत्यको उदाहरण हो।

बच्चा संसारमा आउनुअघि नै उनीहरूका सोच, योजना निर्णयहरू परिवर्तन हुन थालेका थिए। उनीहरू शारीरिक रूपमा आमाबुबा बनेका थिएनन्, तर मनोवैज्ञानिक रूपमा अभिभावकत्वको यात्रामा प्रवेश गरिसकेका थिए।

अन्ततः, अभिभावकत्व कुनै एक दिनको घटना होइन।

यो जिम्मेवारी स्वीकार गर्ने, नयाँ जीवनका लागि तयार हुने आफूलाई पनि रूपान्तरण गर्ने दीर्घ यात्रा हो।

त्यसैले बच्चा जन्मिनुभन्दा पहिले नै अभिभावक जन्मिन थालिसकेका हुन्छन्।

……….

डा. नबराज मुडवरी विकास अध्ययनमा एमफिल शिक्षाशास्त्रमा विद्यावारिधि प्राप्त शिक्षाविद्, अनुसन्धानकर्ता तथा लेखक हुन्। हाल अष्ट्रेलियाको विश्वविद्यालय क्षेत्रमा कार्यरत उहाँसँग शिक्षण तथा शैक्षिक नेतृत्वमा दुई दशकभन्दा बढीको अनुभव छ। उहाँ शिक्षा, समाज अध्यात्मका विषयमा नियमित रूपमा कलम चलाउनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर