होबार्ट ।
नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाले रेवन्त बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
गत आइतबार होबार्टमा सम्पन्न नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाको ( एनविए)को साधारण सभाले बस्नेतको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेउरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुन आचार्य, कार्यसमितिमा रोसन मैनाली र कुसुम शर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको निर्वाचन आयुक्त सन्देश परियारले जानकारी दिए ।
एनविएले तास्मानियामा रहेका नेपाली व्यवसायीहरूलाई एउटै संस्थामा समेटेर उनीहरूको सहकार्य, सीप, क्षमता र राज्य स्तरबाट प्राप्त हुन सक्ने स्रोतसाधनका साथै व्यवसाय सम्बन्धी सूचनाहरूमा पहुँच पुर्याउने उद्देश्यका साथ विगत दुई वर्षदेखि काम गर्दै आएको छ ।
साथै संस्थाले कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थीहरुलाई राहत वितरण गर्नुका साथै अस्ट्रेलियन कर कार्यालय (एटओ), बिजनेस तासमानिया लगायतका विभिन्न सरकारी निकायहरूसँग समन्वय गरी व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्दे आएको छ । होबार्ट तथा लनचेस्टनमा रहेका करिब ३५ भन्दा बढी व्यवसायीहरू संस्थामा आबद्ध रहेका छन् ।