अस्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरिएन्ट

अस्ट्रेलियामा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
नेपालआईज
१२ मंसिर २०७८ ७:४६

सिड्नी ।

अस्ट्रेलियाको सिड्नीमा आएका दुई जना अन्तराष्ट्रिय यात्रुहरुमा ओमिक्रोन भेरिएन्ट रहेको अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुलाई शनिबार विमानस्थलमा ओर्लिए लगतै परीक्षण गरिएको थियो । तर, कुन भेरिएन्ट हो भन्ने पुष्टि नहुँदै १४ दिन क्वारिन्टिनका लागि राखिएको थियो । आईतबार मध्यान्ह आएको उनीहरुको कोभिड १९ रिपोटमा ओमिक्रोन भेरिएन्ट भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

दुवै यात्रुहरू नोभेम्बर २७ तारिखमा दक्षिणी अफ्रिकी मुलुकबाट सिड्नी आएका थिए । आगमनपछि उनीहरूलाई परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनीहरू अहिले स्पेसल हेल्थ एकोमोडेसनमा आइसोलेसनमा रहेका छन् । उनीहरू दुवै जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

कतार एयरवेजबाट दक्षिणी अफ्रिकाबाट दोहा हुँदै उनीहरूसँग अन्य १२ जना समेत सिड्नी आएका थिए । बाँकी १२ जना स्पेसल हेल्थ एकोमोडेसनको होटेल क्वारेनटाइनमा रहेका छन् । करिब २ सय ६० जना यात्रु तथा चालक दलका सदस्यहरू उनीहरूसँगको सम्पर्कमा आएको तथा उनीहरूलाई आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

९ अफ्रिकी मुलुकबाट १४ दिनभित्र आएका यात्रुहरुले तत्काल परीक्षण गर्नुपर्ने तथा १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ तथा न्यु साउथ वेल्स हेल्थको १८०० ९४३ ५५३ नम्बरमा फोन गर्नुपर्नेछ । 

सार्वजनिक स्वास्थ्य आदेशको पालना नगर्नु अपराध भएको र सजाय हुने चेतावनी दिइएको छ । उनीहरूसँगको सम्पर्कमा आएकाहरूको नियमित परीक्षण हुनेछ । दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बावे, मोजाम्बिक, नामिविया, इस्वातिनी, मालावी र सिसेल्सबाट न्यु साउथ वेल्स आएकाहरुलाई अनिवार्य रूपमा १४ दिन होटेल क्वारेनटाइनमा बस्न निर्देशन दिइएको छ । यसका साथै त्यसबाहेक १४ दिन अघि अन्य मुलुक गएका यात्रुहरू सिधै आफ्नो घर जानुपर्ने तथा आफूलाई ७२ घण्टा आईसोलेट गर्नुपर्ने भएको छ ।

साथै चालक दलका सदस्यहरूले पनि न्यु साउथ वेल्स आउनु भन्दा १४ दिनभित्र विदेशको यात्रा गरेको भए उनीहरूलाई पनि सिधै आफ्नो आवासमा जान तथा उडान अघि १४ दिन आइसोलेसनमा बस्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको