Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
तास्मानिया । अष्ट्रेलियाको जीवन, विहान बेलुका जागिरको काममा व्यस्त । खायो सुत्यो, भोलिबाट फेरी उही दैनिकी । कामको व्यस्तता र थकानले गर्दा आफूलाई मन पर्ने तथा अन्य केही सिर्जनशील कामको लागि छुट्टी नै पर्खिनुपर्छ । यो देशमा अर्काको लागि घण्टामा काम गरिदिएर गुजारा चालाउने नेपालीको दैनीकि सम्भवत: यसरी नै बितेको छ भन्दा अत्युक्ति नहोला ।
अष्ट्रेलियामा श्रम गरेर गुजारा चलाउने अन्य सामान्य नेपालीकोभन्दा मित्र गुरुङ्ग को समयतालिकामा पनि कुनै तात्विक भिन्नता छैन । फरक यतिमात्र हो, अति व्यस्तताका बाबजूद आफू मन खाएको कुरा र कामका लागि समय जसरीपनि निकाल्छन् । त्यसैले होला, मेहनत, धैर्यता र समर्पण सफलताका कुञ्जि हुन् भन्ने विश्वव्यापी कथनलाई पुष्टि गरिदिएका छन् उनले ।
विदेशी भूमीमा बसोबास गरे पनि नेपाली परम्परागत लोकबाजाको संरक्षण, प्रवद्र्धन र आगामी पुस्तामा लोकबाजाको अस्तित्व र महत्वलाई हस्तान्तरण गर्ने प्रतिवद्धता गरेका व्यक्ति हुन् उनी, अर्थात मित्र गुरुङ्ग ।
मित्र गुरुङ्ग हाल अष्ट्रेलियाको तास्मानियास्थित लञ्चेस्टनमा बसोबास गर्छन् । नेपालको गण्डकी गाउँपालिका, वाड नं ८ गोरखामा जन्मिइ उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अष्ट्रेलिया आएका उनी अष्ट्रेलियाको एकल टापु तास्मानियाको लञ्चेस्टनमा बस्ने पुराना नेपालीहरु मध्येका एक हुन् । नोभेम्बर २०१४मा नेपालबाट लञ्चेस्टन आएका उनी उनकै शब्दमा त्यतिबेला नेपालीहरुको संख्या कम भएका कारण सजिलै नेपाली समुदायमा घुलमिल हुने स्थिति थिएन ।
नेपालदेखिको अष्ट्रेलिया सम्मको सांगीतिक यात्रा
‘म लञ्चेस्टन आउने बेलामा यहाँ नेपाली समुदाय स्थापित भएकै थिएन, लञ्चेस्टनमा एक दुई जना नेपालीहरु पनि छन् अरे भन्ने सुनिन्थ्यो मात्र,’ उनी विगत सम्झन्छ्न, ‘भेटघाट र घुलमिल त परै जाओस ।’
नेपाली समुदाय नभएपछि नेपालीभाषीहरुको समुदाय (भुटानी समुदाय) मा उनी स्थापित भए । सानैदेखि संगीतमा रुची राखेका र केही नेपाली परम्परागत बाजा बजाउन जानेका उनले नेपाली भाषीहरुको समुदायले गर्ने कार्यक्रमहरुमा गीत गाउन र बाजा बजाउन थाले ।
‘नेपाली भाषीहरुले आयोजना गरेका केही कार्यक्रममा मादल, बाँसुरी लगायत अन्य बाजाहरु बजाउँथे,’ उनी भन्छन् । अनि सुरु भयो उनको अष्ट्रेलियामा सांगीतिक यात्रा । यही सांगीतिक यात्रा र विदेशी भूमिमा नेपाली लोक संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेलेका कारण उनी अहिले ताज्मासनयामा नेपालीहरुको संस्था एनआरएनको कल्चरल एम्बेसडर पनि बन्न सफल भएका छन् ।
त्यसो त उनको सांगीतिक यात्रा लञ्चेस्टनबाट मात्र सुरु भएको होइन ।
‘नेपालमा सानैदेखि नै बाँसुरी र मादल बजाउँथें,’ उनी भन्छन् । ‘बाबा गीत गाउने अनि आमा चुट्का नाच्ने भएकाले परिवारमा नै सांगीतिक माहोल थियो । परिवार भित्रको संगीतिक माहोल र सानै देखि नेपाली संगीत प्रतिको उनको रुची सायद त्यसैले होला,’ उनी एम्बेसडर भएको कारण खोतल्दै गए ।
‘नेपालमा सानैदेखि नै बाँसुरी र मादल बजाउँथें,’ उनी भन्छन् । ‘बाबा गीत गाउने अनि आमा चुट्का नाच्ने भएकाले परिवारमा नै सांगीतिक माहोल थियो । परिवार भित्रको संगीतिक माहोल र सानै देखि नेपाली संगीत प्रतिको उनको रुची सायद त्यसैले होला,’ उनी एम्बेसडर भएको कारण खोतल्दै गए ।
नेपालमा स्कुलमा बाजा बजाउने देखि लिएर लञ्चेस्टनमा हरेक बर्ष आयोजना हुने हार्मोनी डेमा सधै जसो सांगितिक प्रस्तुती दिन्छन् उनले । यही बाजा बजाउने कलाबाट नै अस्टेलियाका नेपालीमाझ उनले आफ्नो परिचय छोड्न सफल भएका छन् ।
पञ्चेबाजामा पोख्त, सारंगी सिक्दै
कुन कुन बाजा बजाउनुहुन्छ भन्ने नेपाल आइजको प्रश्नमा सुरुमै उनले भनेका थिए, ‘लगभग सबै’ । बाजा बजाउन मात्र होइन, नेपाली परम्परागत बाजाहरु मादल, बाँसुरी, खैजडी, मुजुरा, पञ्चेबाजाको सम्पूर्ण सेट, सारंगी, टुंङ्ना, तबला लगायत नेपालमा लोप हुन लागेका बाजाहरुको संकलन समेत गरेका छन् उनले । ‘कतिपय बाजाहरु आफै बजाउन सिकेको हँ, अन्य कतिपय बाजाहरु युटुब लगायत अन्य सामाजिक सञ्जालहरुबाट सिक्दै छु,’ उनले भने, ‘तर बजाउन सबै सक्छु ।’
त्यति मात्र होइन, लञ्चेस्टनको नेपाली स्कुल भाषालयमा पढ्ने नेपाली बालबालिकाहरुलाइ हरेक शनिबार नेपाली बाजाहरु बजाउन सिकाउँदै छन् उनले । घण्टौं काम गरेर आएपछि पनि बाजा बजाउन थकाइ लाग्दैन भन्ने प्रश्नमा उनको जवाफ छ, संगीतको धुनले त झन् थकान पो मेटिन्छ ।