क्यानवेरा । अस्ट्रेलियामा पहिलो घर खरिदकर्ताले सुपरएनुएसन (सेवानिवृत्ति) को ४० प्रतिशत निकाल्न मिल्ने भएको छ । यो सुविधा हजारौ नागरिकले प्राप्त गर्नेछन् ।
सुपर होम बायर स्किम अन्तर्गत पहिलो घर खरिदकर्ताहरूले आफ्नो सेवानिवृत्तिको ४० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।
यसको अर्थ अस्ट्रेलियनहरुले आफ्नो पहिलो घर सोचे भन्दा चाँडै खरिद गर्न सक्नेछन् । उनीहरुले जम्मा बचत गर्न लाग्ने समय औसतमा तीन वर्षले घट्नेछ ।
यो योजना नयाँ र बनिसकेका घरहरूमा लागू हुनेछ जसमा लगानी गरिएको रकम घर बिक्री भएपछि तथा पूँजीगत लाभको अंशसहित उनीहरुको सेवानिवृत्ति कोषमा पठाइनेछ ।
प्रधानमन्त्री स्कट मरिसनले पहिलो घर खरिदकर्तालाई सहयोग गर्ने मरिसन सरकारको मूख्य योजना रहेको बताए ।
सहायक कोषाध्यक्ष र आवास मन्त्री माइकल सुक्करले सुपर होम बायर स्किम महत्वाकांक्षी अस्ट्रेलियनहरुका लागि परिवर्तन भएको तथा यो पहिलो घर खरिदकर्ताहरूलाई आशा र अवसर प्रदान गर्ने बताए । यो योजना आगामी वर्षको जुलाई १ बाट सुरु हुनेछ ।
पछिल्लो तीन वर्षमा मरिसन सरकारको आवास नीतिहरूले ३ लाख भन्दा बढी अस्ट्रेलियनलाई घरको स्वामित्वमा सहयोग गरेको छ ।
लिवरल तथा राष्ट्रिय योजना अन्तर्गत होम ग्यारेन्टी स्कीमले अर्को वर्ष ५० हजार अस्ट्रेलियनहरुलाई घर बनाउन मद्दत गर्नेछ । यसमा क्षेत्रीय अस्ट्रेलियामा नयाँ घरहरूका लागि १० हजार ठाउँहरू समावेश छन् र पहिलो होम सुपर सेभर स्कीमले अस्ट्रेलियनहरुलाइई उनीहरूको पहिलो घरका लागि स्वैच्छिक बचत गर्न मद्दत गरिरहेको छ ।
तर, यहाँको राष्ट्र बैंकले ब्यादर बढाएपछि भने पहिलो घर खरिदकर्ताहरु निराश बनेका छन् । तर, घरजग्गा ब्यवसायीहरुले भने जुलाईको अन्तिमसाता देखि घरजग्गाको भाउमा गिराउवट आउन सक्ने अनुमान गरेका छन् ।