Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाको इतिहासमा पहिलो इटालियन-अस्ट्रेलियन प्रधानमन्त्री अल्बानिज !
नेपालआईज
१० जेठ २०७९ ०:५१
छत्र शंकर-
लिबरल नेता एन्थोनी अल्बानिज विश्वको छैटौँ ठुलो तथा एक विशाल विविधताको देश,अस्ट्रेलियाको नयाँ ३१ औँ प्रधानमन्त्री बनेका छन् । अस्ट्रेलियामा नौ वर्षपछि लेबरको उदयसँगै अल्पसङ्ख्यक,मजदुर, आप्रवासी तथा बहुँसस्कृतिक पृष्ठभूमि भएका समुदायको बिचमा अल्बानिज,नरम र लचिलो नीति भएको नेताको रूपमा चिनिन्छन् । उनी देशको छैटौँ ठुलो जातीय समूहको प्रतिनिधित्व गर्दै अस्ट्रेलियाको इतिहासमा पहिलो इटालियन-अस्ट्रेलियाली प्रधानमन्त्री भएका हुन् ।
अल्बानिज अथवा ‘अल्बो’को जन्म सिड्नीमा आयरिश-अस्ट्रेलियन आमा र इटालियन बुबाबाट भएको हो । अर्थशास्त्र अध्ययन गर्न सिड्नी विश्वविद्यालयमा जानुअघि अल्बानिजले सेन्टम्यारीको क्याथेड्रल कलेजमा अध्ययन गरे ।
उनी विद्यार्थीका रूपमा लेबर पार्टीमा प्रवेश गरे र संसद्मा प्रवेश गर्नुअघि पार्टी पदाधिकारी र अनुसन्धान अधिकृतको रूपमा काम गरे । सन् १९९६ को चुनावमा न्यु साउथ वेल्सको ग्रेन्डलरको सिट जितेर अल्बानिज हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भए भने पहिलो पटक सन् २००१ मा छाया क्याबिनेटमा नियुक्त भएका थिए । त्यसपछि उनले कैयौ भूमिकामा सेवा गरेपछि सन् २००६ मा अपोजिसन बिजनेसको प्रबन्धक बने ।
सन् २००७ को चुनावमा लेबरको विजय पछि अल्बानिजलाई सभाको नेता नियुक्त गरियो साथै उनलाई क्षेत्रीय विकास तथा स्थानीय सरकार र पूर्वाधार तथा यातायात मन्त्री समेत बनाइयो ।
सन् २०१० देखि २०१३ सम्म केभिन रुड र जुलिया गिलार्डबीचको नेतृत्व विवादलाई लिएर अल्बानिजले सार्वजनिक रूपमै दुवैको आचरणको आलोचना गर्दै एकताको लागि आह्वान गरे । सन् २०१३ मा अल्बानिज लेबर पार्टीको उपनेता चुनिए साथै उपप्रधानमन्त्री बने ।
सन् २०१३ मा भएको चुनावमा लेबरको पराजय पछि अल्बानिजले पार्टी नेतृत्वको चुनावमा बिल शर्टेनविरुद्ध उभिए । उक्त नेतृत्व चुनावमा पार्टीका सदस्य तथा सांसदहरूको सहभागिता रहेको थियो ।
अल्बानिजले सदस्यहरूको ठुलो बहुमत हासिल गरे पनि लेबर सांसदहरूको मत भने शर्टेनको पक्षमा गयो । शर्टेनले पछि अल्बानिजलाई आफ्नो छाया क्याबिनेटमा नियुक्त गरे । सन् २०१९ को चुनावमा लेबरको लगातार तेस्रो पराजयपछि शर्टेनले राजीनामा दिएका थिए ।
अल्बानिज नेतृत्वको चुनावमा एक्ला उम्मेदवार बने र लेबर पार्टीको नेतामा निर्विरोध निर्वाचित भए । तर, आगलागी र कोरोना महामारीले ओरालो लागेको अर्थतन्त्र तथा धेरै महत्वकांक्षी योजनाका बिचमा काम गर्न भने उनलाई धेरै नै चुनौती छ ।