काठमाडौं । अमेरिकाको फोर्ब्स म्यागेजिनले यस वर्षको एसियाको ३० वर्ष मुनिका ३० जना प्रभावशाली युवाको सूचीमा पाँच जना नेपाली परेका छन् ।
फोर्ब्सको सूचीमा पर्न चार हजारभन्दा बढी उम्मेदवारहरुले आवेदन दिएकोमा तीन सय जना छनौट गरिएको थियो । उक्त ३ सय जनाबाट ३० वर्ष मुनिका ३० जना उद्यमीमा उनीहरु छनौट भएका हुन् ।
बुधबार सार्वजनिक सूचीमा नेपालबाट सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका छन् ।
इन्ग्रेल्सका सहसंस्थापक सुजित पाठक, सामाजिक प्रभाव अन्तर्गत पुतली नेपालकी प्रबन्ध निर्देशक ऐश्वर्या रानी सिंह, स्वास्थ्य सेवा र विज्ञानअन्तर्गत नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका पोस्ट डक्टरल फेलो सुमित दाहाल र रिटेल एण्ड इकमर्स अन्तर्गत अफरिङ ह्याप्पिनेसका सहसंस्थापक निरज काफ्ले र सन्तोष पाण्डे रहेका छन् ।