नेपालबाट तास्मानिया आएका बा-आमाहरूको उपदेश, नाति-नातिनालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु

नेपालबाट तास्मानिया आएका बा-आमाहरूको उपदेश, नाति-नातिनालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु
नेपालआईज
१२ असार २०७९ १:३३

लनचेस्टन ।  प्रवासी नेपाली मञ्च ‌(ओएनएफ) तास्मानियाले शनिवार  लनचेस्टनमा  वनभोज कार्यक्रमको आयोजना गर्यो । मञ्चले तास्मानियामा पहिलो पटक अभिभावकका लागि  गरिएको वनभोजमा  करिब एक सय भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो  । होबार्ट, लनचेस्टन, डेभनपोर्ट र बर्नीबाट अभिभावकहरू लनचेस्टनमा आयोजना गरेको वनभोजमा  सहभागी भए ।

तास्मानियाको जाडोमा घरमै सीमित भएका बा-आमाहरू एकै ठाउँमा भेला हुँदा हर्षले गद गद भएका देखिन्थे । लनचेस्टनको ट्रे भलिन  हाइट स्थित सुनसान   जंगलकोवीचमा  गरिएको वनभोजले नेपालकै याद दिलाउँथ्यो ।  चिसो हावामा  आगोको धुनी ताप्दै बा-आमाहरू एक अर्काबिच चिनजान गरी नेपाल तिरकै न्यानो कुराकानी गरिरहेको देखिन्थे । 

कतिपय बा-आमाहरू भन्दै थिए, ‘बजार निस्किदा नेपाली बोल्न नपाएर कस्तो उकुस उकुस भइएको थियो । आज त मज्जाले बोल्न पाइयो ।’   व नभोजमा आएका बा आमाहरू कोही पहिलो पटक अस्ट्रेलिया आएको बताउँथे भने कतिपय त दुई तीन वर्षदेखि यतै बसेको बताउँथे ।

प्राय बा-आमाको एउटै उपदेश छ, ‘अस्ट्रेलियामा जन्मेका नाति-नातिनालाई नेपाली भाषा, संस्कार र संस्कृति सिकाउनु ।’ वनभोजमा सहभागी बुबाआमाहहरु  भन्दै थिए, ‘ मेरो नातिले त अङ्ग्रेजी मात्र बोल्छ । कोही नाति -नातिनाले हजुरबा हजुरआमाले बोलेको  बुझ्छन् तर फर्काउन जान्दैनन्।’ 

बाबुआमाले दिएको उपदेश जस्तै  यहाँ जन्मे हुर्केका नानीबावुहरुलाई  नेपाली भाषा सिकाएर  पुरानो पुस्तासँग जोड्नका लागि अस्ट्रेलियामा बसोबास गर्ने  हरेक परिवारको ध्यान जान जरुरी छ ।  

कार्यक्रममा सहभागी भएकोमा बा-आमाहरूलाई स्वागत गर्दै मञ्चका तास्मानिया अध्यक्ष मुगेन  गौतमले भने ‘ बुबाआमाहरु यसरी एकै ठाउँ भेला पार्न पाउँदा हामी छोरा छोरीलाई खुसी  लागेको छ , ‘आगामी दिनमा पनि यस्ता कार्यक्रम  गरेर तपाँईहरुलाइ निम्तो गर्छौ ।’

संस्थाका उपाध्यक्ष तथा  कार्यक्रम सञ्चालक केराज खनालले नेपाली कला  तथा संस्कृतिको जगेर्ना गर्न तीजमा  दिदी बहिनीहरूका लागि कार्यक्रम आयोजना गरिने जानकारी गराए । 

वनभोजमा आएका बा आमाहरूले  दिनभर रमाइलो गरे । उनीहरूलाई आयोजकले विभिन्न खेलहरू खेलाएर मनोरञ्जन दिलाए ।  कतिपय ढल्किँदो उमेरका बा-आमाहरूको  नृत्यले सबैको ध्यान तानेको थियो । 

साथै  लनचेस्टन निवासी कलाकार हृदय दाहालको ‘आमा’ नामक कविताले पनि अभिभावकहरूलाई निकै भावुक बनायो । कलाकार दाहाले छोराछोरीको अस्ट्रेलियाको व्यस्त जीवन तथा यहाँ आएका बुवाआमाहरुको भोगाइ तथा नेपालको एक्लोपनालाई समेटेर  कविता प्रस्तुत गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको