तास्मानिया । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तास्मानियाका दुई ठुला शहरहरुमा तीज मेलाको आयोजना गरिएको छ ।
अगस्ट २१ मा लञ्चेस्टनको म्याक्स फ्राइ हलमा हुने तीज मेलामा नेपालबाट आएका कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । पर्दा इभेन्ट्सको सहयोगमा उक्त कार्यक्रम नारी निकुञ्ज तास्मानियाले आयोजना गरेको हो ।
उक्त मेलामा नेपालबाट आउने लोक गायक प्रकाश सपूत र करिष्मा ढकालले प्रस्तुती दिनेछन् ।
यसपटकको लञ्चेस्टनको कार्यक्रम पहिलाका तीज कार्यक्रमहरुभन्दा फरक हुने आयोजकले जनाएको छ ।
“यसपटक हामीले नेपालका ग्रामीण भेगका महिलाहरुको आङ खस्ने समस्या सम्बन्धी परियोजनालाई सहयोग गर्ने हिसाबले आयोजना गर्दैछौं,” नारी निकुञ्ज तास्मानियाकी आरजु रिजालले नेपालआइजसँगको कुराकानीमा भनिन् ।
त्यस्तै, नारी निकुञ्ज तास्मानियाले होबार्टको मल्टिकल्चरल हबमा तीजकै दिन अगस्ट ३० मा तीज पूजा एवम् नाचागानको आयोजना गरेको छ । जसमा नेपाली पण्डितहरुले पुजा गर्ने देखि महिलाहरु स्थानीय डिजेहरुको संगीतमा नाचगान गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रम पनि आङ खस्ने समस्याबाट पीडित नेपालका ग्रामिण भेगका महिलाहरुको सहयोगार्थ हुने उनले जानकारी दिइन् ।