होबार्ट । प्रवासी नेपाली मञ्च, राज्य कमिटी तास्मानियाले क्रुजमा तीज कार्यक्रम गर्ने भएको छ । नेपाली कला, संस्कृति र मौलिक हरितालिका तीजको महत्त्व झल्काउने गरी अगस्ट २५ मा उक्त कार्यक्रम आयोजना गरिएको मञ्चका तास्मानिया राज्य समिति अध्यक्ष मुगेन गौतमले जानकारी दिए । तिलिचो कन्सल्टिङ ग्रुपको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई क्यूब मोटगेज एन्ड सर्भिस, टास कलेज, क्रिस रिमुभलस, मेरिट एजुकेसन एन्ड माइग्रेसन, म्याड्स क्लिनिङ्ग एन्ड गाडेनिङ्ग लगायतका व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन् । होबार्टमा हुने उक्त कार्यक्रममा गोलापर्थाबाट सहभागी एक जनालाई तिलहरी प्रदान गरिने मञ्चका सचिव सुनिल खँदालले जानकारी दिए।