तास्मानियाको लञ्चेस्टनमा नेपालकै झल्को दिने द्यौसी भैलो

तास्मानियाको लञ्चेस्टनमा नेपालकै झल्को दिने द्यौसी भैलो
नेपालआईज
१३ कार्तिक २०७९ २२:१७

तास्मानिया ।
नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले तिहारको उपलक्ष्यमा तास्मानियाको लञ्चेस्टनका स्थानीय नेपालीहरुको घर घरमा गई द्यौसी भैलो खेलेको छ ।
काठे भाका, मादल र बाँसुरीको तालमा नेपाली शैलीमा खेलिएको द्यौसी भैलोले आँफूहरु नेपालकै कुनै घरमा भैलो खेलेको भान भएको उपस्थित वृद्ध बुवाआमाहरुको भनाई थियो ।
गत मंगलबार सुरु भई बिहीबार अबेरसम्म खेलिएको भैलोमा देउसी भट्याउने, नेपाली पोशाक लगाएका साना नानीहरुको नृत्य र लोक बाजाको तालमा काठे भाकाले पैसा झार्ने तरिका साँच्चै नेपाल बिर्साउने खालको थियो ।
मित्र गुरुङ्ग र हृदय दाहालको भट्याउने शैली, नवराज दर्लामीको मादल र पारस घिमिरेको बाँसुरीको धुनमा राजाराम लामिछानेले काठे शैलीमा पैसा झार्ने तरिकाले भाका हाल्दा उपस्थितहरुले निकै मनोरञ्जनका साथ देउसी रे भनेर सहयोग गरेका थिए ।
‘सौहार्दपूर्ण वातावरणमा राती अबेरसम्म द्यौसी भैलो खेल्न त अस्ट्र्लिया आउनुपर्ने रहेछ,’ नेपालमा उच्छृंखल गतिविधि बढेकोले राती ९ बजेपछि भैलो खेल्न नपाइने नेपाल सरकारको नियमप्रति लक्षित गर्दै एक अभिभावकले भने, ‘नेपालमा यति रमाइलो कहाँ हुनु ?’
विदेशी भूमिमा नेपाली लोक सँस्कृतिलाई संरक्षण गर्दै यहाँ हुर्कदै गएको नेपाली नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले द्यौसी भैलोको आयोजना गरिएको सोसाइटीका अध्यक्ष सन्देश श्रेष्ठले बताए ।
स्थानीय नेपालीहरुको घरघरमा द्यौसी भैलो खेलेर करिब ७ हजार अस्ट्रेलियन डलर उठेको र उठेको पैसा नेपाली बालबालिकाहरु पढ्ने भाषालय लगायत अन्य सामाजिक काममा खर्च गरिने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको