Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
१५ कात्तिक, २०७९, सिड्नी : श्रद्धा, भक्ति र एकताको पर्व छठ पर्व अस्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरुले पनि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाएका छन् ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठलाई भव्य बनाउन एसोसिएसन अफ नेपाल तराई (एएनटिए) अस्ट्रेलियाले सिड्नीको चिपिङनर्टन स्थित एञ्जल पार्कमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
प्राचिन विधि अनुसार ३० तारिख अर्थात आईतबार अस्ताउँदो सूर्य र ३१ तारिख अर्थात सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईएको छ । अघिपछि उदाउँदो सूर्यको प्रार्थना गरिने भए पनि छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ ।
सूर्यलाई अर्घ दिनुका साथै छठी माताको पुजाआजा, प्रसाद वितरण, स्नान लगायतका कार्यहरु गर्दै छठ पर्वको समापन गरिएको थियो । झण्डै २ सय जनाको उपस्थितिमा छठ पर्व भव्य रुपमा मनाईएको अध्यक्ष सुवाशं शाहले जानकारी दिए ।
छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेष गरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तीको कामना गर्दै यो ब्रत लिने चलन छ ।
छठ पर्व मनाउन एञ्जलपार्कमा पुगेका अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले सांस्कृतिक विविधतामा धनी नेपालका चाडपर्वहरुले सदभाव र एकता कायम राखेको बताए । उनले अस्ट्रेलियामा पनि नेपाली समुदायहरु एकजुट भई यस्ता चाडपर्वहरुको प्रवद्र्धन र संरक्षणमा लागेको देख्दा खुसी लागेको धारणा व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, एनआरएन सचिव होम पाण्डे, पहिलो नेपाली काउन्सिलर भद्र वाईवा, एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, अभियान्ता तथा मोटिभेटर बिनोद पौडेल लगायतको सहभागीता रहेको थियो ।
२००८ बाट सिड्नीमा लगातार नेपाली समुदायका व्यक्तिहरुले छठ पर्व मनाउँदै आएका छन् । यो सगैं अहिले १४ औँ पटक छठ पर्व मनाईएको अध्यक्ष शाहले बताए । उनले आगामी दिनमा विगतका कमीकमजोरी सुधार गरेर अझै भव्य बनाउने कोशिस आफुहरु रहने भन्दै कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।