लनचेस्टन। तास्मानियाको लनचेस्टनमा रहेको लनचेस्टन नेपाली क्रिकेट क्लब (एलएनसीसी)ले शनिवारबाट सुरु हुने टीसीएल टी-ट्वान्टी क्रिकेट कपमा सहभागिता जनाउने भएको छ । एलएनसीसीले टीसीएल टी-ट्वान्टी सिरिज अन्तर्गत ४ वटा खेल खेल्ने भएको छ । एलएनसीसीले पहिलो खेल लङफोर्ड क्रिकेट ग्राउन्डमा शनिवार १० बजेबाट तथा दोस्रो खेल इभानडेल क्रिकेट क्लबको ग्राउन्डमा २:३० बजेबाट खेल्ने एलएनसीसीका उपाध्यक्ष डा.आनन्द अर्यालले जानकारी दिए ।
त्यसै गरी, आइतबार पहिलो खेल हाड्सपेनविरुद्ध तथा दोस्रो खेल वेस्टर्न टाइगर्सविरुद्ध खेल्ने तालिका रहेको छ । प्रतियोगिता सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह अन्तर्गत प्रत्येक टिमले चार खेल खेल्नेछन् । समूह विजेताले नदर्न तास्मानियाको प्रतिष्ठित मानिने टी-ट्वान्टी सिरिजको फाइनल खेल्नेछ । लनचेस्टन नेपाली क्रिकेट क्लबमा पारस पौडेल कप्तान तथा रमेश क्षेत्री उपकप्तान रहेका छन् । अन्य खेलाडीमा कृतन ताम्रकार, आशिष पाण्डे, सुवास खकुरेल, आशिष चन्द, धिरज दास, साहिद खान, सञ्जय सागर, रुपेश पराजुली, गोविन्द कार्की र सन्दीप अधिकारी रहेका छन् ।